alliance khabar

शुक्रबार, जेठ २९, २०८३

काठमाडौँ, जेठ २९ गते ।

संयुक्त अरब इमिरेट्स (युएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी भदौ ७ गतेदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक व्यावसायिक उडान सुरु गर्ने भएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईले पर्यटकीय राजधानी पोखरालाई आफ्नो नयाँ प्राथमिकता प्राप्त गन्तव्यका रूपमा अघि सार्दै दुबई–पोखरा–दुबई गन्तव्यमा दैनिक एक उडान गर्ने गरी रणनीतिक योजनासहित तयारी अघि बढाएको छ ।

उहाँले भन्नुभयो, “लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको यस विमानस्थलबाट भदौ पहिलो सातादेखि फ्लाई दुबईले दैनिक एक सिधा उडानसेवा सुरु गर्ने भएको छ । पोखराबाट पश्चिम एसियाको प्रमुख गन्तव्यमा सिधा हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्वसहित युरोप र अफ्रिकी देशमा समेत पोखराको पहुँच बढ्ने अपेक्षा गरिएको छ ।”

सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि उक्त उडान नियमित हुन नसकेको वर्तमान अवस्थामा पश्चिम एसियामा हुन लागेको नियमित व्यावसायिक उडानसँगै बजार सम्भाव्यता र यात्रु उपलब्धताका आधारमा एयर अरेबिया, हिमालय एयरलाइन्सलगायतका थप वायुसेवा कम्पनीसमेत पोखरामा उडान गर्न इच्छुक देखिएको उहाँले बताउनुभयो । सन् २००९ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको फ्लाई दुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको जनाएको छ ।

फ्लाई दुबईका प्रमुख कार्यकारी अधिकृत गैथ अल गैथले नेपाल फ्लाई दुबईका लागि अत्यन्त महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरामा प्रत्यक्ष उडान विस्तार गर्नु नेपाल र यूएईबिचको पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदम भएको बताउनुभयो ।

त्यसै गरी फ्लाई दुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधिर श्रीधरणले पोखरा उडानले यात्रुलाई थप विकल्प र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने जनाउनुभएको छ ।

झन्डै २२ अर्ब रुपियाँको लगानीमा निर्माण सम्पन्न भएर विसं २०७९ पुस १ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थल हाल सिमिति चार्टर्ड उडान र आन्तरिक उडानमा मात्र सीमित छ ।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकार र सम्बद्ध निकायले प्रयास गर्दै आए पनि त्यसले सार्थक रूप लिन नसकेको अवस्थामा विमानस्थल सञ्चालन भएदेखि गत जेठ ५ गतेसम्म ७५ अवतरण र ७६ अन्तर्राष्ट्रिय उडान भएका छन् । उक्त उडानमार्फत तीन हजार ८५६ यात्रुले अन्तर्राष्ट्रिय हवाईसेवा लिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल