चितवन, जेठ २८ गते ।
विद्युतीय सवारीसाधन (इभी) को प्रयोगसँगै चितवनमा चार्जिङ स्टेसन खुल्ने क्रम बढेको छ । केही वर्षअगाडि मात्र सरकारी र निजी गरी चार वटा स्टेसन रहेको जिल्लामा अहिले ३३ भन्दा बढी स्थानमा व्यावसायिक रूपमा चार्जिङ स्टेसन सञ्चालनमा छन् ।
नेपाल विद्युत् प्राधिकरणले सुरुमा भरतपुरको केन्द्रीय बसपार्कमा चार वटा सवारीसाधनले एकै पटक चार्ज गर्न सक्ने गरी चार्जिङ स्टेसन स्थापना गरेको थियो । त्यसलगत्तै उपभोक्ताको माग अनुसार प्राधिकरणले मुग्लिङमा अर्को चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो । विद्युतीय सवारीसाधनको प्रयोग बढ्न थालेपछि प्राधिकरणले भरतपुर बसपार्कमा बुथ थपेर एकै पटक १२ वटाले चार्ज गर्न सक्ने व्यवस्था मिलाएको छ । यसबाहेक निजीस्तरबाट व्यावसायिक रूपमा विभिन्न स्थानमा ३१ वटा स्टेसन सञ्चालनमा आएका छन् ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर मिलन सापकोटाले प्राधिकरणले दुई स्थानमा र व्यावसायिक रूपमा ३१ स्थानमा स्टेसन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार यीबाहेक होटेल, रेस्टुरेन्टहरूमा आफ्ना ग्राहकलाई सेवा दिने गरी चार्जिङ स्टेसन राख्नेहरू धेरै छन् । पछिल्लो समय साझा सहकारी संस्थाले भरतपुरको बाइपास सडकमा चार वटा प्यालनबाट एकै पटक आठ वटा सवारीसाधनले चार्ज गर्न मिल्ने गरी सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो ।
साझाले जिल्लाको सबभन्दा उच्च क्षमताको चार्जिङ स्टेसन राखेको इन्जिनियर सापकोटाले बताउनुभयो । साझामा ६३० केबिए र भरतपुर बसपार्कमा पाँच सय केबिए क्षमताको चार्जिङ स्टेसन छ । यहाँ निजीभन्दा प्राधिकरणको चार्जिङ दर सस्तो छ ।
बढ्दो विद्युतीय सवारीसाधनको प्रयोगका कारण हाल भएका चार्जिङ स्टेसन अपर्याप्त रहेको सवारीचालकको भनाइ छ । ग्रामीण क्षेत्रदेखि सहरी ठाउँसम्ममा विद्युतीय सवारीसाधन प्रयोगमा आउनाले चार्जिङ स्टेसनको माग बढेको माइव्रmोचालक विवेक मण्डल बताउनुहुन्छ । भरतपुरबाट वीरगन्ज, जनकपुर, काठमाडौँ, पोखरा, पश्चिम नेपाललगायत विभिन्न स्थानमा दर्जनौँ विद्युतीय साधन चल्दै आएका छन् । बसपार्कमा चार्जका लागि जाँदा पालो पाउन मुस्किल हुने चालकहरू बताउँछन् । निजीस्तरले सञ्चालनमा ल्याएका स्थानमा समेत चाप हुने भएकाले थप स्टेसन राख्नुपर्ने उनीहरूको माग छ । चार्जिङ स्टेसन पूर्वाधार आयोजनाका पूर्वप्रमुख सागर ज्ञवालीले प्राधिकरणले अहिले कतै पनि स्टेसन राख्ने तयारी नगरेको जानकारी दिनुभयो । व्यावसायिक रूपमा निजीले राखेको र व्यक्तिगत रूपमा घर घरमा चार्जको व्यवस्था भएकाले प्राधिकरणले राख्ने तयारी नगरेको उहाँले स्पष्ट पार्नुभयो ।
अटो मोबाइल डिलर एसोसिएसन चितवनका निवर्तमान अध्यक्ष राजन पियाले चितवनमा मात्र निजी विद्युतीय सवारीसाधन तीन हजारभन्दा धेरै रहेको बताउनुभयो । जिल्लाबाट हरेक वर्ष नौ सयभन्दा धेरै विद्युतीय सवारीसाधन बिक्री हुने गरेको उहाँको भनाइ छ । जिल्लामा निजीबाहेक धेरै सार्वजनिक सवारीसाधन विद्युतीय गाडीबाटै चल्ने पियाले बताउनुभयो । चितवन भएर पूर्वपश्चिम महेन्द्र राजमार्ग र नारायणगढ–मुग्लिङ सडकखण्डमा दैनिक २० हजारभन्दा धेरै सवारीसाधन चल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यी सवारीसाधनमध्ये विद्युतीय सवारीसाधनको यकिन विवरण नभए पनि विगतभन्दा अहिले गुड्ने सङख्या वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ ।