नेपालगन्ज, जेठ २७ गते ।
युवा प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित नेपालगन्जमा सञ्चालन गरिएको “दोस्रो माननीय कप टी–१० क्रिकेट प्रतियोगिता” को उपाधि वडा नम्बर ८ ले जितेको छ।
लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेको सहयोगमा भेरी रकर्स स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा नेपालगन्जको वडा नम्बर १८ लाई २९ रनले पराजित गर्दै वडा नम्बर ८ ले उपाधि हात पारेको हो। विजेता टोलीले ५० हजार रुपियाँ नगदसहित ट्रफी प्राप्त गरेको छ।
फाइनल खेलमा पहिले ब्याटिङ गर्दै वडा नम्बर ८ ले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। टोलीका समसुद्दिन अन्सारीले ३१ रन र फरदिन खानले २२ रनको योगदान दिएका थिए। वडा नम्बर १८ का बलर कलिम अन्सारीले तीन विकेट लिएका थिए।
११६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको वडा नम्बर १८ ले १० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सक्यो र २९ रनले पराजित भयो। उसका ब्याट्सम्यान अजय कुमार बर्माले ३३ रन र अंशु शर्माले १७ रन जोडेका थिए।
वडा नम्बर ८ का बलर आफताब अन्सारीले तीन विकेट र नदीम शेषले दुई विकेट लिए। विजेता तथा उपविजेता टोलीलाई लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले ट्रफी, मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो।
नेपालगन्जका १६ वटा क्रिकेट टोलीको सहभागिता रहेको प्रतियोगिता आफ्नो उद्देश्यअनुसार सफल भएको भेरी रकर्स स्पोर्ट्स क्लबका अध्यक्ष साजिद खानले बताउनुभयो।
हालैका महिनाहरूमा नेपालगन्जका विभिन्न स्थानमा रात्रीकालीन तथा दिवा क्रिकेट प्रतियोगिताहरू भइरहेका छन्। ती प्रतियोगिताका कारण अहिले नेपालगन्ज क्रिकेटमय बनेको छ।