चौमाला (कैलाली), जेठ २५ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि आइतबार राति भएको निर्वाचनबाट ठकुल्ला ३३५ मतसहित सभापतिमा निर्वाचित हुनुभएको हो।
उहाँका प्रतिद्वन्द्वी महेश कुमार चौधरीले ३७ र हरी रेग्मीले २२ मत प्राप्त गर्नुभएको छ। उपसभापतिमा रामलखन चौधरी विजयी हुनुभएको छ। पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै चौधरीले १५२ मत प्राप्त गर्नुभएको हो।
सचिवमा मदनराज जोशी विजयी हुनुभएको छ। उहाँले तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो। सहसचिवमा गणेशबहादुर शाही निर्वाचित हुनुभएको छ।
सदस्यहरूमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आले मगर, दीपक विक र नरदीप बहादुर धामी निर्वाचित हुनुभएको छ।
यस्तै, कैलाली–१ को निर्वाचन क्षेत्र सदस्यमा टंकप्रसाद जैशी ढुंगाना, २ मा कृष्णबहादुर विष्ट, ३ मा बासुदेव घरेडी र ४ मा दुर्गा अधिकारी निर्वाचित हुनुभएको छ।
अध्यक्षका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक भएको तथा मतदाता नामावलीमा धाँधली भएको भन्दै चुनाव बहिष्कार गर्नुभएको थियो। दुवै जनाको बहिष्कारबीच रास्वपाले मतदान प्रक्रिया अघि बढाएको थियो। कुल ५०८ मतदाता रहेकोमा ३३५ मत खसेको निर्वाचन समितिले जनाएको छ।