alliance khabar

बुधबार, जेठ २०, २०८३

दमौली (तनहुँ),  जेठ २० गते । 

केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ ।

यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ । जनभावना नेवाः खल मिसाः पुच दमौलीको आयोजना तथा व्यास नगरपालिका–३ वडा कार्यालयको आर्थिक सहयोगमा मङ्गलबारदेखि यहाँ सुरु भएको पाँचदिने तालिममा ४० जना महिला सहभागी छन् ।

तालिममा सहभागीहरूलाई मकैको खोस्टालाई उपयोग गर्न विभिन्न आकारमा मोड्दै, गाँस्दै र सजावटी सामग्री बनाउने अभ्यास गराउन थालिएको छ ।

वडाध्यक्ष अनुप रानाले खेर गइरहेको मकैको खोस्टाको उपयोग गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।  तालिमपछि व्यवहारिक अभ्यासका लागि पनि प्रोत्साहन गरिने र उत्पादित सामग्रीको बजारीकरणका लागि कार्यालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । “सीप सिकेरमात्रै पुग्दैन, त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ । यस कार्यमा सहयोग गर्छौं”, वडाध्यक्ष रानाले भन्नुभयो ।

व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठले सीपलाई आयआर्जनसँग जोड्न सके तालिमको उपलब्धि देखिने बताउनुभयो । उहाँले स्थानीयस्तरमा खेर जाने सामग्रीबाट लाभ लिन यस्ता कार्यक्रमको निरन्तरताका लागि पनि आग्रह गर्नुभयो ।

महिला उद्यमी सङ्घ गण्डकीकी उपाध्यक्ष निर्मला मल्लले मकैको खोस्टाजस्तो सामान्य वस्तुले पनि राम्रो आम्दानी दिन सक्ने बताउनुभयो । “सिर्जनशीलता र मिहिनेत जोडियो भने खेर जाने वस्तु पनि अवसर बन्न सक्छ । त्यसैले तालिमलाई अवसरका रूपमा लिँदै आत्मर्भिर बन्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

वडासचिव सावित्री आचार्यले वडा कार्यालयले समुदायका विभिन्न समूहलाई लक्षित गरी नियमित रूपमा सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । यस्ता कार्यक्रमले महिलाको आत्मविश्वास बढाउनुका साथै स्वरोजगारको अवसर सृजना गर्ने उहाँको भनाइ थियो ।

जनभावना नेवाः खल मिसाः पुचकी अध्यक्ष रश्मिला ताम्राकारले महिलालाई आर्थिक गतिविधिसँग जोड्न र स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।

सचिव सरिता श्रेष्ठले आमा समूह, टोल विकास संस्था तथा पुचका सदस्यहरूबाट छनोट गरी तालिम दिन थालिएको बताउनुभयो । यही जेठ २३ गतेसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल