alliance khabar

सोमबार, जेठ १८, २०८३

तनहुँ, जेठ १८ गते ।

 तनहुँका सबै स्थानीय तहमा क्रमशः मगर भाषाको पठनपाठन विस्तार गरिने भएको छ । मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण प्रदान गरेर विद्यालयस्तरमा पठनपाठन विस्तार गर्ने तयारी थालिएको हो ।

नेपाल मगर संघ तनहुँको आयोजनामा तथा शुक्लागण्डकी नगरपालिकाको सहयोग आइतबार शुक्लागण्डकीमा आयोजित ‘मगर भाषा संस्कृति पाठशाला विषयक कार्यशाला गोष्ठी–२०८३’ मा उक्त जानकारी दिइएको हो । नेपाल मगर संघ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्ला स्तरीय प्राज्ञिक परिषद् गठन गरी मगर भाषाको स्थानीय पाठ्यक्रम तयार गरिएको बताउनुभयो । उहाँका अनुसार पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षकहरूलाई प्रशिक्षणसमेत प्रदान गरिसकिएकाले आगामी दिनमा पालिकाहरूसँग समन्वय गरेर विद्यालयमा मगर भाषाको पठनपाठन विस्तार गरिनेछ ।

उहाँले मातृभाषा शिक्षाले समुदायको भाषा, संस्कृति, इतिहास र मौलिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय सरकारको सहयोगमा जिल्लाभर अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले भाषा, धर्म, संस्कृति र साहित्यको संरक्षण तथा विकासका लागि स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय ज्ञान, सीप, सभ्यता र संस्कृतिको संरक्षणबाट समाजलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यशालाका प्रमुख प्रशिक्षक भाषा र सस्कृति विज्ञ डा. विष्णुकुमार सिंजाली मगरले मगर सभ्यतासहितको समृद्ध समाज निर्माणका लागि शिक्षा र सचेतना, आर्थिक उद्यमशीलता, सामाजिक तथा सांस्कृतिक विकास र राजनीतिक सशक्तीकरणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा मगर भाषाको संरक्षण, पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन तथा विद्यालयस्तरमा मातृभाषा शिक्षाको आवश्यकता सम्बन्धमा छलफल गरिएको थियो । सहभागीहरूले मातृभाषामा आधारित शिक्षाले बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्नुका साथै भाषा र संस्कृतिको पुस्तान्तरणमा समेत योगदान पु¥याउने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल मगर संघको भाषिक उपाध्यक्ष हर्क आलेले भाषा बाँचे मात्र जातिको अस्तित्व रहने भएकाले विद्यालय तहदेखि नै यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेश सचिव नन्दु थापा मगरले मातृभाषा शिक्षाका लागि प्रदेशस्तरबाट पनि आवश्यक नीतिगत पैरवी भइरहेको उल्लेख गर्नुभयो । त्यसैगरी, नेपाल मगर स तनहुँका पूर्वअध्यक्ष खड्गसिंह थापाले विगत लामो समयदेखिको प्रयासले अहिले सार्थकता पाउन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो भने मगर भाषा र संस्कृतिका विज्ञ यमबहादुर आलेले भाषिक शुद्धता र मौलिक लिपिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

व्यास नगरपालिका–१४ स्थित केशवटार माध्यमिक विद्यालयमा दुई वर्षअघि कक्षा १ बाट सुरु गरिएको मगर भाषाको पठनपाठन हाल कक्षा ३ सम्म विस्तार भइसकेको छ । उक्त अभ्यासलाई जिल्लाका अन्य विद्यालयमा समेत विस्तार गर्ने लक्ष्यका साथ पाठ्यक्रम निर्माण र शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँमा मगर समुदायको जनसंख्या ८३ हजार ६१३ रहेको छ । नेपाल मगर संघ तनहुँका अनुसार जिल्लामा मगर समुदायको वास्तविक संख्या एक लाख सात भन्दा रहेको अनुमान गरिएको छ । कार्यक्रममा विभिन्न पालिकाका प्रतिनिधि, मगर प्राज्ञिक परिषद्का पदाधिकारी तथा नेपाल मगर संघका जिल्ला र स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल