मुगु, जेठ १५ गते ।
मुगुको छायाँनाथ रारा नगरपालिका–९ स्थित पर्यटकीय क्षेत्र रारामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बिहीबारदेखि आइतबारसम्म सार्वजनिक बिदा परेकाले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारामा सकारात्मक प्रभाव परेको हो ।
चारदिने बिदाका कारण रारास्थित होटलहरूमा विगतको तुलनामा पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी शान्ति रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको छ भने होटलहरूको क्षमता करिब ९० प्रतिशतसम्म भरिएको छ ।
“चारदिने बिदामा आन्तरिक पर्यटकहरू दुई दिन राराताल र मुर्माटप क्षेत्रमा बिताएर फर्कने गरेका छन्,” उहाँले भन्नुभयो, “यसले राराको पर्यटन व्यवसायलाई चलायमान बनाउन महत्त्वपूर्ण सहयोग पुगेको छ ।”
राराताल क्षेत्रमा विशेषगरी फागुन, चैत, वैशाख तथा असोज, कात्तिक र मङ्सिरलाई मुख्य पर्यटकीय यामका रूपमा लिने गरिएको छ । तर, सार्वजनिक बिदाका कारण अहिले पनि होटलहरू भरिभराउ हुन थालेको व्यवसायीहरूको भनाइ छ ।