काठमाडौँ, जेठ १ गते ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबिच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार कोष र उक्त स्वास्थ्य संस्थाबिच सम्झौता भएको हो ।
सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्य तथा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष एवं वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले हस्ताक्षर गर्नुभयो ।
सम्झौतासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबाट कोष अन्तर्गत आफ्ना सन्ततिका लागि उपलब्ध स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सक्ने छन् ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्यले सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई देशभर सहज स्वास्थ्यसेवा पहुँच सुनिश्चित गर्न विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गर्दै आएको जानकारी दिनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले सामाजिक सुरक्षा कोषको योगदानकर्तामैत्री स्वास्थ्यसेवा विस्तार, गुणस्तरीय उपचारमा पहुँच अभिवृद्धि तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।