alliance khabar

सोमबार, बैशाख ०७, २०८३

दुल्लु (दैलेख), वैशाख ७ गते ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा दैलेखको नौमुलेमा कर्णाली लोकनृत्य तथा सांस्कृतिक सम्मिलन सम्पन्न भएको छ । कार्यक्रम शुक्रबारदेखि सुरु भई विधिवत रूपमा सम्पन्न भएको हो ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले नेपाली भाषा र संस्कृतिको उद्गमस्थल मानिने दैलेखमा आयोजित यस सम्मिलनले कला–संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता प्राज्ञ सदस्य तथा नृत्य विभाग प्रमुख बखत हमालले गर्नुभएको थियो ।

सम्मिलनमा कर्णाली प्रदेशका १० मध्ये सात जिल्लाका लोकसंस्कृति झल्कने नृत्य, लोकनाटक र झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा मुगुबाट ‘चम्पा’ जस्तो लोककथामा आधारित नृत्य, दैलेखबाट राउटे नाच तथा दुल्लुदराको माझखण्डबाट धमारी नाच प्रस्तुत गरिएको थियो ।

त्यस्तै, जुम्लाबाट खाँडो नाचसँगै कर्णालीको कथा बोकेको लोकनाटक प्रस्तुत गरिएको थियो भने जाजरकोटले वीरता र युद्धकला झल्कने खाँडो नाच प्रस्तुत गरेको थियो । सल्यानको दार्मा गाउँपालिकाबाट सल्यानी टप्पा, सुर्खेतबाट झ्याउरे नृत्य र कालिकोटबाट हुड्क्यौलीसहित देउडा खेल प्रस्तुत गरिएको थियो ।

यसैगरी, आयोजक नौमुले गाउँपालिकाबाट मारुनी, सोरठी तथा पञ्चेबाजासहित नयाँ पुस्ताका लोकप्रिय गीतहरूमा आधारित प्रस्तुति पनि देखाइएको थियो ।

सम्मिलनमा कर्णालीको लोकनृत्य र संस्कृतिबारे अध्येता राजबहादुर कुँवरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि प्राज्ञ सदस्य प्रा.डा.मधुसुधन गिरी, लोकनृत्यसम्राट कुलमान नेपालीलगायतले टिप्पणी गर्नुभएको थियो ।

करिब चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा प्रदेशका कलाकारसँगै राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको पनि प्रस्तुति रहेको थियो । कार्यक्रममा टिका पुन, विनोद विक, सुकदेव अधिकारी, सपना शाही, संगीता बडुवाल, टेकराज भण्डारी तथा ‘द भ्वाइस अफ नेपाल’को सातौँ संस्करणकी विजेता निता थापा मगरले प्रस्तुति दिनुभएको थियो ।

“यो ऐतिहासिक अवसर भएकाले व्यवस्थापनको जिम्मेवारी लिएका हौँ,” नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदीले बताउनुभयो । “नौमुले आफैँमा बहुभाषी र बहुसांस्कृतिक पालिका भएकाले यसले सिंगो प्रदेशको प्रतिनिधित्व गरेको छ,” उहाँले थप्नुभयो ।

दैलेखको दुर्गम क्षेत्रमा कर्णालीका लोकनृत्य र संस्कृतिलाई एकै स्थानमा अवलोकन गर्न पाउनु स्थानीयका लागि अभूतपूर्व उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल