alliance khabar

शुक्रबार, बैशाख ०४, २०८३

बागलुङ, वैशाख ४ गते ।

 भारतको नयाँ दिल्लीस्थित अक्षरधाम विश्वकै ठुलो हिन्दु मन्दिरमध्ये एकका रूपमा परिचित छ । सोही अक्षरधामका प्रमुख जगदगुरु स्वामी मुनिवत्सलसहित महन्तहरूले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित रङ्गवैकटेश मन्दिर र श्रीधराचार्य शालग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।

स्वामिनारायण अक्षरधाम मन्दिरबाट आउनुभएका जगदगुरु स्वामी मुनिवत्सल, धर्ममुक्ति दास, त्यागनिष्ठ दास र शुद्धस्वरूप दाससहितको टोलीले बिहीबार मन्दिर तथा सङ्ग्रहालयको अवलोकन गरेको सङ्ग्रहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

म्याग्दीको गलेश्वरधाम हुँदै मुस्ताङस्थित मुक्तिनाथ मन्दिरसम्म जाने लक्ष्यसहित आएको उक्त टोलीलाई बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र शालग्राम सङ्ग्रहालयका प्रमुख ऋषि प्रपन्नाचार्यले स्वागत गर्नुभएको थियो ।

सङ्ग्रहालय अवलोकनपछि स्वामी मुनिवत्सलले विश्वभरका हिन्दुहरू एकताबद्ध हुनुपर्ने, क्षमाशील, सरल र पारिवारिक रूपमा सत्सङमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भारतमा धेरै तीर्थस्थल भए पनि बागलुङजस्तो अलौकिक सङ्ग्रहालय अन्यत्र नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “भारतीय पर्यटकलाई नेपालको यो सङ्ग्रहालय भ्रमणका लागि पठाउनेछौं ।” उहाँले शालग्राम संरक्षण र धार्मिक सहिष्णुताको सन्देश दिन यो भ्रमण केन्द्रित रहेको बताउनुभयो ।

बिहीबार एकैदिन पाँच सयभन्दा बढी भारतीय पर्यटकले शालग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । नेपाली र भारतीय गरी एक हजारभन्दा बढी पर्यटक रङ्गवैकटेश मन्दिर तथा शालग्राम सङ्ग्रहालय पुगे पनि पाँच सयभन्दा बढी भारतीय पर्यटकले टिकट काटेर अवलोकन गरेको संरक्षक प्रपन्नाचार्यले बताउनुभयो ।

एक सय ५० मिटर लामो सुरुङमार्गभित्र संग्रहित सवा लाख शालग्रामको दर्शनका लागि दैनिकजसो धार्मिक पर्यटकको भीड लाग्ने गरेको छ । सङ्ग्रहालय परिसरमा करिब १० करोड रुपियाँभन्दा बढीको लागतमा धार्मिक संरचना निर्माण गरिएको छ ।

“शालग्रामको महत्व भारतवर्ष, नेपालको मधेश प्रदेश र मिथिला सभ्यतामा विशेष रहेकोले सो क्षेत्रका पर्यटक बढी आउने गरेका छन्,” संरक्षक प्रपन्नाचार्यले भन्नुभयो । गत वर्ष एक लाखभन्दा बढी पर्यटकले सङ्ग्रहालय अवलोकन गर्दा करिब एक करोड २२ लाख रुपियाँ आम्दानी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिले वैशाख ७ देखि ११ गतेसम्म ३९औँ ब्रह्मोत्सव तथा शालग्राम महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव अवधिभर सामूहिक गीता पाठ, भजनकीर्तन, कथावाचन तथा शालग्राम र कालीगण्डकीबारे चर्चा गरिने पनि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल