alliance khabar

बुधबार, बैशाख ०२, २०८३

काठमाडौँ, वैशाख २ गते ।

काठमाडौँ महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर रात्रिकालीन बस सेवा पुनः सञ्चालनमा ल्याएको छ । यसअघि पटक पटक सञ्चालन र बन्द हुँदै आएको रात्रिकालीन बस सेवा मङ्गलबार बेलुका ८ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले साझा यातायातको सहकार्यमा सुरुमा उपत्यकाको केही ‘रुट’ मा रात्रिकालीन बस सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले यो बस सेवाले काठमाडौँको ‘नाइट इकोनोमी’ र रात्रिकालीन सुरक्षालाई नयाँ उचाइ दिने विश्वास गरिएको बताउनुभयो । उहाँका अनुसार दिवा सेवामा लाग्ने टिकट दरमा नै रात्रि सेवा सञ्चालन गरिएको छ ।

उहाँले भन्नुभयो, “सुरुमा साझा यातायातको चार वटा विद्युतीय बस सञ्चालन गरिएको छ । अस्पताल क्षेत्र र विमानस्थललाई जोड्ने गरी ‘रुट’ निर्धारण गरी बस सेवा सञ्चालन गरिएको हो । बसमा सिसिटिभी क्यामरा जडान गर्नुका साथै नगर प्रहरीको सुरक्षा रहने छ ।”

उहाँका अनुसार ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का अस्पताल हुँदै काठमाडौँको नर्भिक, प्रसूतिगृह, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटै ‘रुट’ निर्धारण गरी बस सञ्चालन गरिएको हो ।

यसै गरी थानकोटदेखि सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको ‘रुट’ निर्धारण गरिएको छ ।

विगतमा भएका प्रयास

यसअघि तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यको पालामा रात्रिकालीन बस सञ्चालन भई बन्द भएको थियो । त्यसै गरी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७९ साल भदौ १५ गते उपत्यकाका सम्पदा क्षेत्रमा ‘रात्रिकालीन सम्पदा यात्रा’ सुरु गर्ने योजना अगाडि सार्नुभएको थियो । काठमाडौँ, भक्तपुर, पाटन र कीर्तिपुरका कला, संस्कृति र सम्पदालाई रात्रिकालीन पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित ल्याइएको सो योजना सफल हुन सकेको थिएन ।

त्यसै गरी साझा यातायातले २०७६ असार २६ गते काठमाडौँ नयाँ सडक (न्युरोड) गेट हुँदै तीन वटा रुटमा रात्रिकालीन बस सेवा सुरु गरे पनि यात्रुको अभावमा सञ्चालन खर्च महँगो भएको भन्दै बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल