alliance khabar

सोमबार, चैत्र १६, २०८२

काठमाडौँ, चैत १६ गते ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएर ६४ दिन अस्पताल बसाइ पूरा भएपछि ‘डिस्चार्ज’ भएकी २० वर्षीया लिजा अधिकारी घरमै आराम गर्दै परीक्षाको नतिजाको प्रतीक्षामा हुनुहुन्छ । मोरङ घर भएकी अधिकारी काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ । जेनजी आन्दोलनका क्रममा घाइते उहाँको हात र कुमको जोड्तीबाट गोली वारपार भएको थियो ।

उहाँले भन्नुभयो, “कुमबाट लागेको फलामको गोली छातीबाट निस्किएको रहेछ । आन्दोलनपछि ६२/६४ दिन हस्पिटल बसेँ । भर्खरै पनि एक महिना हस्पिटल बसेर एक साताअघि मात्रै डिस्चार्ज भएको हो ।” अधिकारीले डाक्टरले बोलाउनेबित्तिकै अस्पताल जानु पर्छ । उहाँ दुई/तीन दिन बिराएर अस्पताल जानुहुन्छ । उहाँका अनुसार गोली लागेर छुट्टिएको हड्डी अझै जोडिइसकेको छैन । उहाँले भन्नुभयो, “दुखाइ एकदमै हुन्छ । दुखाइ बढेपछि नै एक महिना अस्पताल बसेकी हुँ । अब एक महिनासम्म फलोअप गरेर फेरि अर्को शल्यक्रिया गर्नु पर्छ ।”

ललितपुरको इमाडोलमा भाडामा बस्ने विद्यार्थी अधिकारीलाई घाउको दुखाइ जति बढ्छ, त्यति नै आर्थिक स्थितिले पनि पिरोल्छ । उहाँका अनुसार अस्पतालमा उपचार गर्दाको खर्च सरकारले नै तिरिदिएको छ । तर अन्य खर्च व्यक्तिगत रूपमै जुटाउनु पर्छ । फलोअपमा जाँदा यातायात खर्च लाग्छ । उहाँले भन्नुभयो, “कतिपय औषधी आफैँ किन्नु पर्छ । सरकारले १५ र २० हजार गरेर जम्मा ३५ हजार रुपियाँ दिएको थियो । हस्पिटल बस्दा खर्च कति हुन्छ, त्यो भनिसाध्य छैन । कुरुवा बस्नुप¥यो, खानेकुरा, बाहिरको खर्च एकदमै धेरै आउँछ । म यहाँ पढ्नका लागि भाडामा बस्छु । कोठा भाडा १६ हजार रुपियाँ छ । खाना खर्च १०/१२ हजार रुपियाँ लागिहाल्छ । त्यसैले सरकारले दिएको खर्चले कुनै खास सहयोग पुगेन ।”

दैनिकी धान्नै सकस 

विद्यार्थी लिजा अधिकारी मात्रै होइन, काभ्रे घर भई काठमाडौँ कलङ्की बस्ने ३७ वर्षीय राम ताम्राकार र नुवाकोट घर भई बूढानीलकण्ठ नगरपालिकास्थित कपन बस्ने २९ वर्षीय ललितमान तामाङ पनि जेनजी आन्दोलनका घाइते हुनुहुन्छ । सवारीचालक ताम्राकारको एउटा आँखा गुमेको छ । घाइते भएपछि उहाँको रोजगारी पनि गुमेको छ । परिवारको आयस्रोतको आधार उहैँ हुनुहुन्छ ।

उहाँका अनुसार घाइते भएपछि अस्पताल बसाइ अवधिभर उपचार खर्च लागेन । उहाँले भन्नुभयो, “भदौ २४ गते कलङ्कीमा गाडी राखेर आइरहेको थिएँ, एक्कासि गोली लाग्यो । त्यसपछि अस्पताल बसेँ र अहिले घरमै आराम गरिरहेको छु । अहिलेसम्म सरकारले उपचार खर्चबापत एक रुपियाँ पनि दिएको छैन, सबै आफ्नै खर्चमा उपचार गरिरहेको छु । फलोअपमा जाँदा लाग्ने खर्च पनि आफैँले जुटाइरहेको छु ।”

काठमाडौँको गौशालामा गोली लागेर घाइते भएका तामाङको खुट्टामा गोली र छातीसहित शरीरका अन्य भागमा छर्रा लागेको थियो । उहाँका अनुसार फ्रन्टलाइन अस्पतालमा उपचारपछि घर फर्किए पनि स्वास्थ्य परीक्षणका लागि नियमित अस्पताल जानु पर्छ । घाइते तामाङले राज्यका तर्फबाट दुई पटक गरी ३५ हजार रुपियाँ पाउनुभएको छ । उहाँले भन्नुभयो, “घाइते हुनुअघि नेपाल यातायातमा चालकको काम गर्थें । तर घाइते भएपछि काम गर्न सकेको छैन । भाडा र अन्य खर्च गरी महिनामा ५० हजार रुपियाँभन्दा बढी खर्च हुन्छ । फलोअपमा जाँदा तीन हजारभन्दा बढी खर्च हुन्छ । पैसा जुटाउन असाध्यै गाह्रो भइरहेको छ ।”

मानसिक तनावमा गुज्रिँदै 

सरकारले अद्यावधिक गरेको तथ्याङ्क अनुसार जेनजी आन्दोलनमा दुई हजार ५०० भन्दा बढी घाइते भएको थिए । सरकारले घाइतेको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । तर राम ताम्राकार र ललितमान तामाङ जस्तै कैयौँ घाइते अहिले पनि व्यक्तिगत खर्चमै उपचाररत छन् । घाइते ताम्राकारका अनुसार घाइतेको अवस्था कष्टप्रद छ । उहाँले भन्नुभयो, “घाइते साथीहरूको बिचल्ली भएको छ । धेरै साथी मानसिक तनावमा गुज्रिरहेका छन् । घरमा खानेकुरा छैन । उपचारको उचित प्रबन्ध छैन । छोराछोरीको स्कुल फी तिर्न सकेको छैन । घरभाडा तिर्न नसकेको छ महिना भयो । एकदमै आहत भएको छ ।” घाइते तामाङले आर्थिक अभावका कारण दैनिक गुजारा चलाउन र औषधी खानै कठिन भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल