वराहक्षेत्र, चैत १६ गते ।
बेमौसममा गोलभेडा उत्पादन गरेर पूर्वी नेपालका सहरमा राम्रो बजार पाएको सुनसरीको श्रीलङ्का टापुमा उत्पादित गोलभेडाले यस सिजनमा पनि राम्रो भाउ पाएको छ।
मङ्सिर महिनादेखि नै उत्पादन सुरु गरी राम्रो मूल्यमा बिक्री हुँदै आएको टापुको गोलभेडा चैतको दोस्रो सातासम्म पनि आकर्षक मूल्यमा बिक्री भएको कृषक अनिल चन्द्रवंशीले बताउनुभयो। उहाँका अनुसार मङ्सिरमा प्रतिकेजी ८५ रुपियाँसम्म पुगेको गोलभेडा अन्य वर्ष सिजनमा दुई–तीन रुपियाँमा पनि बिक्री गर्न कठिन हुने गरेको थियो। यसपटक भने चैतको दोस्रो सातासम्म पनि प्रतिकेजी २५ रुपियाँमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो।
श्रीलङ्का टापुमा उत्पादित गोलभेडा पूर्वी नेपालका इटहरी, धरान लगायतका मुख्य सहरका व्यापारीहरू खेतमै पुगेर दैनिक बजार भाउअनुसार खरिद गर्दै आएका छन्। कृषक बालक चन्द्रवंशीका अनुसार टापुमा उत्पादन भएको गोलभेडाको बजार माग उच्च रहेकाले व्यापारीहरू खेतमै आएर खरिद गर्छन्।
भारतीय गोलभेडामा निर्भर रहेको पूर्वी नेपालको बजार पछिल्लो समय टापुमा उत्पादन हुने ताजा गोलभेडातर्फ आकर्षित भएको धरान कृषि उपज बजार स्थलले जनाएको छ। टापुको बलौटे दोमट माटोमा तीन वर्षदेखि किसानहरूले व्यावसायिक रूपमा गोलभेडा खेती गर्दै आएका छन्।
“सिजनमा पनि अपेक्षाअनुसार भाउ पाउँदा टापुका किसानले गोलभेडाबाट राम्रो फाइदा लिएका छन्,” कृषक बालक चन्द्रवंशीले भन्नुभयो। कम विषादी प्रयोग हुने, हेर्दा चम्किलो र आकर्षक देखिने भएकाले गोलभेडा व्यापारी तथा उपभोक्ताको रोजाइमा परेको उहाँको भनाइ छ।
गोलभेडाको बोट सुक्न लाग्दासम्म पनि मूल्य राम्रो रहँदा दुई बिघा १० कठ्ठा क्षेत्रफलबाट खर्च कटाएर २५ लाख रुपियाँ आम्दानी भएको कृषक बालक चन्द्रवंशीले बताउनुभयो।
उहाँले भन्नुभयो, “अरुबेला बिक्री नभएर फाल्नुपर्ने गोलभेडाले यसपटक राम्रो भाउ पाएकाले किसान थप गोलभेडा खेतीतर्फ आकर्षित भएका छन्। यसले कृषकमा खेतीप्रति हौसला पनि बढाएको छ।”
कृषक अर्जुन चन्द्रवंशीका अनुसार बलौटे माटो भएकाले मल र पानीको राम्रो व्यवस्थापन मिलाउँदा टापुमा गोलभेडा राम्रो उत्पादन भएको छ। भदौ अन्तिममा बिरुवा लगाएका किसानले मङ्सिर अन्तिमबाट बिक्री सुरु गरेका थिए। टापुका अधिकांश किसानले तीन बिघादेखि तीन कठ्ठासम्म क्षेत्रफलमा गोलभेडा लगाएका छन्।
कृषक अनिल चन्द्रवंशीका अनुसार गोलभेडा खेतीमा सुरुमा लगानी धेरै गर्नुपर्छ। बिरुवा सार्ने ड्याङमा मल्चिङ (बाहिर सेतो, भित्र कालो) प्लास्टिक बिछ्याउन र बिरुवालाई आवश्यक खाद्यतत्त्व माटोमा मिलाउन बढी खर्च लाग्ने उहाँ बताउनुहुन्छ। हाल टापुमा ३० बिघाभन्दा बढी क्षेत्रफलमा गोलभेडा खेती हुँदै आएको छ।
मेहनत गर्न सके गोलभेडा खेतीबाट प्रति कठ्ठा ४० हजार रुपियाँभन्दा बढी आम्दानी गर्न सकिने किसानहरूको भनाइ छ। रोपेको तीन महिनामै फल दिने भएकाले अन्य बालीभन्दा गोलभेडा तथा तरकारी खेतीमा राम्रो फाइदा हुने गरेको छ।