दाङ, चैत १२ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैते दसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा चैते दसैंलाई नेपालीहरूको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्दै यस्ता चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समग्र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभएको हो । उहाँले मौलिक चाडपर्वहरू नेपाली पहिचानको आधार हुनुका साथै पर्यटन प्रवर्धनसँग पनि गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक पर्यटनको विकासमार्फत प्रदेशको समृद्धि हासिल गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।
सन्देशमा नेपालले लामो संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समावेशी शासन व्यवस्थाले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्ने आधार प्रदान गरेको उल्लेख गरिएको छ । विविध चाडपर्वहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउँदै आएको पनि उहाँले बताउनुभएको छ ।
मुख्यमन्त्री आचार्यले चैते दसैंले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य र भातृत्व अझ मजबुत बनाउनुका साथै सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह र सकारात्मकता ल्याओस् भन्ने कामना गर्नुभएको छ । यसैविच लुम्बिनी प्रदेश सरकारले चैते दसैंको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको छ ।