alliance khabar

सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ, चैत ९ गते ।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथलगत्तै सङ्घीय संसद्को बैठक बस्ने गरी नयाँ निर्वाचित सरकारले अधिवेशन आह्वान गर्ने भएको छ । वर्तमान सरकारबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी सिफारिस नहुने धारणा आएपछि नयाँ सरकारले नै सङ्घीय संसद्को अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएको छ ।

जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित राष्ट्रिय सभाका सदस्य मोहम्मद खालिदका अनुसार राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को अधिवेशन आह्वानका लागि वर्तमान सरकारबाट सिफारिस नहुने सूचनाबारे जानकारी गराउनुभयो । सिंहदरबारमा भएको बैठकबारे उहाँले भन्नुभयो, “सभाका अध्यक्ष र सङ्घीय संसद् सचिवालयका महासचिवले अधिवेशन आह्वानसम्बन्धी सरकारको धारणाबारे जानकारी गराउनुभयो । निर्वाचित सरकारले संसद्को अधिवेशनका लागि सिफारिस गर्ने वर्तमान सरकारको धारणा हो ।”

बैठकका सहभागी राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले अधिवेशन बोलाउने/नबोलाउने विषय सरकारको अधिकार क्षेत्रको रहेको र यस सम्बन्धमा सरकारको स्पष्ट धारणा नआएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रीपरिषद्को बैठक आइतबार हुने भनिएको थियो । आइतबारको बैठकले अधिवेशन आह्वान गर्ने भनिए पनि सो नभएपछि नयाँ सरकारले आह्वान गर्ने सम्भावना देखियो ।”

संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ । प्रमुख सचेतक रोकायले अधिवेशन आह्वानसम्बन्धी विषयमा वर्तमान सरकार र नयाँ सरकारको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्वबिच समन्वय भइरहेको हुन सक्ने बताउनुभयो ।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ चैत १२ गते २ बजे हुने छ । भोलिपल्ट चैत १३ गते प्रधानमन्त्री नियुक्त हुने तय भइसकेको छ । वर्तमान सरकारले नगरे नवनियुक्त प्रधानमन्त्री नेतृत्वको पहिलो मन्त्रीपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्न सक्ने बताइएको छ ।

समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासमेत उपस्थित हुनुहुन्थ्यो । बैठकका सहभागी रोकायका अनुसार मन्त्री सिन्हाबाट समेत अधिवेशन आह्वान सम्बन्धमा औपचारिक धारणा नआएको बताउनुभयो । सङ्घीय संसद् सचिवालयले चैत १८ गतेभित्रै पहिलो बैठक बस्ने गरी व्यवस्थापकीय तथा अन्य तयारी गरिरहेको सचिवालय स्रोतले जनाएको छ ।

अधिवेशन पूर्वतयारीबारे छलफल

सभाका अध्यक्षको सचिवालयका अनुसार राष्ट्रिय सभाका अध्यक्ष दाहालले कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिवेशन आह्वान भएको सन्दर्भमा राष्ट्रिय सभाको कार्यसूची के हुनेबारे प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । कांग्रेसका प्रमुख सचेतक रोकायले भन्नुभयो, “सभाका उपाध्यक्षको निर्वाचन, समितिमा रिक्त सदस्यको मनोनयन गर्नुपर्नेलगायतका विषयमा छलफल केन्द्रित रह्यो ।” अधिवेशन आह्वानपछि सरकारले उपलब्ध गराउनेबाहेकको कार्यसूचीबारे छलफल भएको उहाँले बताउनुभयो ।

सभाका उपाध्यक्ष विमला घिमिरेको कार्यकाल सकिएपछि राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छ । संविधानको धारा ९२ (१) मा राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्ने व्यवस्था छ । गत माघ ११ गते राष्ट्रिय सभाका १८ जना सदस्य निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरूलाई सभा मातहतका समितिमा मनोनयन गर्ने विषयमा समेत छलफल केन्द्रित रह्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल