कलैया, फागुन २३ गते ।
बारामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् भने बाँकी एक क्षेत्रमा पनि पार्टीका उम्मेदवारले स्पष्ट अग्रता कायम राखेका छन् ।
बारा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार गणेश धिमाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकीलाई उल्लेखनीय मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत शम्भु बस्नेतका अनुसार धिमालले ३९ हजार ९९८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका बुढाथोकीले १४ हजार २२३ र नेकपा (एमाले) का अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।
यस परिणामसँगै बाराका अन्य निर्वाचन क्षेत्रमा पनि रास्वपाले प्रभावशाली उपस्थिति देखाएको छ । बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट रास्वपाका अरविन्द साह तथा क्षेत्र नम्बर ४ बाट रहवर अन्सारी आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ ।
क्षेत्र नम्बर ३ मा अरविन्द साहको विजय निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार अरविन्द साहले ४० हजार ६९७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ६ हजार ८८४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
क्षेत्र नम्बर ४ मा रहवर अन्सारीको जित बारा-४ मा रास्वपाका रहवर अन्सारीले ४१ हजार २०० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले ११ हजार ६३९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार अन्सारी र श्रेष्ठबीच २९ हजार ५६१ मतान्तर रहेको छ । जसपाका सञ्जु साह कानुले ७ हजार ५९३ मत प्राप्त गर्नुभएको छ । निर्वाचनअघि अन्सारी नेकपा परित्याग गरी रास्वपामा प्रवेश गर्नुभएको थियो ।
निर्वाचन अधिकारीका अनुसार मतदान शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न भएको छ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार चन्दन सिंहले समाचार तयार पार्दासम्म दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम राख्नुभएको छ ।