alliance khabar

आइतबार, माघ २५, २०८२

काठमाडौँ, माघ २५ गते ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको माहोल उल्लासका साथ देशव्यापी रूपमा अघि बढेकोे छ । निर्वाचनलाई बाध्यकारी बनाउनभन्दा पनि जनताको सुन्दर भविष्यका लागि मनाइने उत्सवमा परिणत गर्न सरकार, सबै सुरक्षा निकाय, निर्वाचन आयोग र निर्वाचन कार्यालयलगायत सबै निकाय सक्रियताका साथ लागिपरेका छन् ।

सरकारमातहत रहेर निर्वाचन आयोगले गर्नुपर्ने तयारी अगाडि बढिरहेको आयोगले जनाएको छ । सातै प्रदेशका ७७ वटै जिल्लामा निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको जिल्लास्थित निर्वाचन अधिकारीको भनाइ छ । कतै निर्वाचनका लागि बन्दोबस्तीका सामग्रीको लेखाजोखा हुँदै छ भने कतै म्यादी प्रहरी कति परिचालन गर्ने भनेर तयारी हुँदै छ । त्यस्तै कतै कसरी भयरहित निर्वाचन सञ्चालन गरेर सबै मतदातालाई मतदान गर्न प्रोत्साहन गर्ने भनेर पनि छलफल र परामर्श जारी रहेका छन् । त्यस्तै कतै नमुना मतपत्र पर्खिरहेका छन् भने कतै मतदाता नामावलीको अन्तिम अद्यावधिक गर्ने चटारो छ ।

केन्द्रबाट गर्नुपर्ने पहल र तयारीमा निर्वाचन आयोग जुटिरहेको छ । प्रदेशदेखि जिल्ला निर्वाचन अधिकृतलाई प्रायः दिनहुँ आयोगले भिडियो छलफल गरेर निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन भनिरहेको छ ।

जिल्ला–जिल्लामा पनि कसरी आफ्नो क्षेत्रको निर्वाचनलाई राम्रो बनाउने भनेर निर्वाचन अधिकृत लागिपरेका छन् । सोलुखुम्बुका निर्वाचन अधिकृत दीपेन्द्रराज अधिकारी पनि जिल्लामा सबै दलको सद्भावपूर्ण सहयोग प्राप्त भइरहेको सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “यतिबेला मतदाता शिक्षा दिने स्वयंसेवी र अनुगमनकर्ताको तालिमको तयारी चलिरहेको छ, त्यसपछि मतदाता शिक्षा दिन अग्रसर हुने छौँ ।” आयोगले दिने भनेका सामग्री कतिपय आउने क्रममा रहेको र आफूहरूसँग जोहोमा रहेका सामग्रीको रेकी गर्ने काम भइरहेको जानकारी उहाँले दिनुभयो । ताप्लेजुङमा पनि चुनावी माहोल तातेको छ । निर्वाचन अधिकृत धनराज श्रेष्ठ भन्नुहुन्छ, “अरू त ठिकै हो, पहाडी र हिमाली जिल्लामा पठाउनुपर्ने सामग्री अलिक छिटो पठाइदिए हुने थियो ।” किनभने आयोगले सबैतिर पठाउने एउटै सूची र मिति अनुसार पठाउँदा ताप्लेजुङ जस्तो विकट ठाउँकाले ढिला पाउने र काम ढिला हुने समस्या हुन सक्छ । आफूहरूले त्यताबाट चुनावचिह्न पठाइसकेको र अब छपाइ भएर आउन बाँकी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

सुनसरीका निर्वाचन अधिकृत चोलाराज दङ्गालका अनुसार जिल्लामा यतिखेर राजनीतिक दल निर्वाचनमा होमिएको अवस्था छ । उहाँले भन्नुभयो, “कोही आफ्नो रणनीति बनाउन र कोही  घोषणापत्र बनाउन व्यस्त छौँ, हामी भने उनीहरूलाई आचारसंहिता सम्झाउन र बुझाउँदै फागुन ४ गतेपछि मात्र आमसभा र प्रचारप्रसारमा जान भनिरहेका छौँ ।”यता मधेशमा पनि निर्वाचनको रौनक बढेकै छ । बाराका निर्वाचन अधिकृत नवीन चौधरीका अनुसार जनशक्ति व्यवस्थापन अझ बलियो बनाइँदै छ । मतदाता शिक्षाका लागि आवश्यक स्वयंसेवक र अनुगमनकर्ता छान्ने प्रव्रिmया चलिरहेको छ । आयोगले दिने भनेका मतदाता सामग्री कतिपय आउने क्रममा रहेको छ ।

सर्लाहीका निर्वाचन अधिकृत ऋषिराज पौडेल नमुना मतपत्र पर्खिरहेको सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “ब्यालेट पेपर र फोटोसहितको मतदाता नामावली कहिले आउँछ भनेर मतदाताले सोधिरहनुहुन्छ ।” कतिपय आवश्यक सामग्री जिटुजी माध्यमबाट आफैँ खरिद गर्ने र कतिपय आयोगले पठाउने व्यवस्था अनुसार काम भइरहेको जानकारी उहाँले दिनुभयो ।

बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुरलगायतका जिल्लामा पनि निर्वाचनको तयारी उच्च तवरले चलिरहेको छ । काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराई निर्वाचनको तयारी चुस्तदुरुस्त रूपमा अघि बढिरहेको औँल्याउनुहुन्छ ।  अलिक पर चितवनमा दलका उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । जिल्ला निर्वाचन कार्यालय भने निर्वाचनलाई छरितो र भयरहित कसरी बनाउने भन्ने तयारीमा लागेको निर्वाचन अधिकृत भीमसेन कार्कीले जानकारी दिनुभयो । आवश्यक सुरक्षाको चाँजोपाँचोसहित भयरहित वातावरणमा निर्वाचन गराउने सरकारको लक्ष्य पूरा गर्न लागिपरेको उहाँले बताउनुभयो ।

रुपन्देहीमा निर्वाचनको तयारीमा सबै दलले सहयोग गरिरहेको जानकारी निर्वाचन अधिकृत कल्पना आर्याल सुनाउनुहुन्छ । स्वयंसेवी परिचालन र निर्वाचन अनुगमन र सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै तयारी चलिरहेको छ । उहाँले भन्नुभयो, “अब बाँकी भनेको आवश्यक सामग्री चुस्त बनाउनु र मतदाता शिक्षा प्रभावकारी बनाउनु रहेको छ ।”

बाँके जिल्लाका निर्वाचन अधिकृत टेकबहादुर शाहीका लागि निर्वाचनमा सीमा सुरक्षासँगै मतदाता शिक्षा बलियो बनाउनु चुनौतीपूर्ण रहेको छ । अन्य साधनस्रोत र जनशक्तिको तयारी निर्वाचन आयोगकै कार्यसूची अनुसार अघि बढेको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “स्वयंसेवक र अनुगमनकर्ताको छनोट धमाधम चलिरहेको छ भने म्यादी प्रहरीको तालिम पनि सुरक्षा निकायले गराइरहेको छ ।”

अलिक माथि पहाडी भेगस्थित बाजुरा जिल्ला निर्वाचन कार्यालयका अधिकृत भीमबहादुर शाहीले निर्वाचनको सम्पूर्ण तयारी शान्तिपूर्ण रूपमा चलिरहको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका निर्वाचनमा जिल्लामा अशान्ति हुँदा मतदान प्रभावित भएका थिए, यसपालि कुनै अशान्ति नहोस् भनेर सचेत छौँ ।” त्यसैले पनि सबै राजनीतिक दल, स्थानीय सरोकारवालासँग निर्वाचन कार्यालयले बारम्बार छलफल गरिरहेको छ ।

आवश्यक जनशक्ति र स्रोतसाधनको जोहो गर्नु बाजुराका लागि कठिन कुरा हो । त्यसका लागि आयोगले समयमै आवश्यक सामग्री पठाइदिए सहज हुने उहाँ औँल्याउनुहुन्छ । रुकुमपश्चिम र रुकुमपूर्वमा पनि निर्वाचनको तयारी अकासिएको छ । रुकुमपश्चिमका निर्वाचन अधिकृत मोहनलाल केसीका अनुसार निर्वाचनलाई आवश्यक कर्मचारी व्यवस्थापनसहित दुई वटा अस्थायी निर्वाचन केन्द्र स्थापनाको तयारीमा कार्यालय जुटेको छ । त्यहाँ ७६ वटा निर्वाचन स्थलमा १४० केन्द्र छन् । उता रुकुमपूर्वमा पनि ५६ वटा केन्द्रलाई चुस्त बनाउन निर्वाचन कार्यालय लागिपरेको छ ।

डडेलधुरामा भने दलहरूको गतिविधिलाई निर्वाचन कार्यालयले कडाइका साथ अनुगमन गरिरहेको छ । शान्ति सुरक्षा र मतदानमा असर पर्ने कुनै पनि काम हुन नदिन हरसम्भव प्रयत्न गरिरहेको निर्वाचन अधिकृत करुणाकर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा दिनभर जसो नै सुरक्षा निकायसँग गाउँठाउँको अवस्थाको रेकी गर्ने काम भइरहेको छ ।” बाँकी जिल्लामा पनि निर्वाचन आयोगको कार्यसूचीमा टेकेर शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयसहितका सबै निकाय सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल