alliance khabar

शुक्रबार, माघ १६, २०८२

विराटनगर, माघ १६ गते ।

भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सक्रियतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो ।

निपा भाइरस सङ्क्रमण देखिएमा कोरोना सङ्क्रमणकालमा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षलाई नै प्रयोगमा ल्याउने गरी तयारी थालिएको स्वास्थ्य निर्देशानालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

निपा भाइरस कसरी सर्छ, कसरी बच्न सकिन्छ भन्ने सचेतनाको कार्यक्रम स्थानीय तहमार्फत थालिने उहाँले बताउनुभयो । निपा भाइरस गम्भीर र खतरनाक मानिने भएकाले समयमै सचेतना थालिने भएको हो ।

जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने रोगको मृत्युदर उच्च रहेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक डा. जगतनारायण प्रसादले निपा भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पूर्वसतर्कताको तयारी थालिएको जानकारी दिनुभएको छ ।

सम्भावित जोखिमबाट बच्नका लागि प्रतिष्ठान अन्तर्गतका सेवा, विभाग, शाखा तथा एकाइलाई सतर्कता अपनाउनसमेत सूचित गरिएको उहाँले जानकारी दिनुभयो । ओपिडी, आकस्मिक तथा वार्ड भर्ना सेवामा निया भाइरससँग मिल्दोजुल्दो लक्षणको निगरानी प्रणाली सुदृढ गर्ने, आइसोलेसनकक्षको  सुनिश्चित तथा नमुना सङ्कलन, सुरक्षित ढुवानी र परीक्षणका लागि पूर्वतयारी थालिएको हो ।

यसै गरी निपा भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी वा स्पष्ट कारण नखुलेका व्यक्तिको मृत्युपछिसमेत नमुना सङ्कलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउन निर्देशन गरिएको निर्देशक डा. जगतनारायण प्रसादले जानकारी दिनुभयो ।

कोशी अस्पताल विराटनगरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामनारायण चौधरी विशेष ढङ्गबाट सतर्कता अपनाउने तयारी भएको बताउनुभयो । अहिले कोशी अस्पतालभित्रै आइसोलेसनको सुविधा निपा भाइरसका लागि उपलब्ध हुन नसक्ने स्थिति रहेको जानकारी दिनुभयो । अस्पतालको नयाँ संरचना बनिनसकेको र पुरानो संरचना अपर्याप्त रहेका कारण निपा भाइरस सङ्क्रमणको जोखिम भित्रिएमा वैकल्पिक व्यवस्था मिलाइने बताउनुभयो । उहाँले स्वास्थ्य सेवा विभागले सङ्क्रमणबाट सुरक्षित रहन पूर्वतयारीका कार्य गर्न निर्देशन गरेबमोजिमका काम थालिएको बताउनुभयो ।

बिपीले सार्वजनिक सूचना जारी गर्दै निपा भाइरस मुख्यतया फलफूल खाने चमेरोबाट मानिसमा सर्ने जानकारी दिएको छ । ​सङ्क्रमित फलफूल (विशेष गरी अम्बा, लिची, खजुर) चमेरोले टोकेका वा जुठो हालेपछि मासिनले खाँदा सर्ने बताइएको छ । यसै गरी सङ्क्रमित सुँगुर वा अन्य जनावरको ¥याल र पिसाबको सम्पर्कबाट पनि सर्ने जनाइएको छ । यसै गरी सङ्क्रमित व्यक्तिको थुक, सिगान वा रगतको प्रत्यक्ष सम्पर्कमा आउँदा (विशेष गरी बिरामीको हेरचाह गर्ने कुरुवा वा स्वास्थ्यकर्मीमा सर्ने जोखिम हुने जनाइएको छ ।

​सङ्क्रमण भएको पाँचदेखि १४ दिनभित्र लक्षण देखिने जसमा ​अत्यधिक ज्वरो आउने र टाउको दुख्ने, ​खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने, ​मांसपेशी दुख्ने र निकै थकाइ महसुस हुन्छ । ​गम्भीर अवस्थामा मस्तिष्क सुन्निने  जसले गर्दा मानसिक अलमल हुने, छारे रोग जस्तै काँप्ने वा बिरामी कोमामा जाने हुन सक्ने जनाइएको छ ।

अहिलेसम्म यो भाइरसविरुद्ध कुनै निश्चित खोप वा औषधी नभएकाले सावधानी नै सबैभन्दा ठुलो उपचार हुने स्वास्थ्य निर्देशक बस्नेतले बताउनुभयो । यसका लागि ​फलफूल सफा गरेर मात्र खाने र भुइँमा झरेका वा चरा चमेराले टोकेका जस्ता देखिने फलफूल कहिल्यै नखान सुझाइएको छ । साबुन पानीले नियमित रूपमा हात धुने र बिरामी देखिएका सुँगुर वा अन्य जनावरको नजिक नजान भनिएको छ । यदि कोही व्यक्ति सङ्क्रमित छ भने उनीहरूलाई छुँदा मास्क, पन्जा र सुरक्षाका सामग्री प्रयोग गर्नु पर्छ ।

स्वास्थ्य निर्देशक बस्नेतले मिल्ने सङ्केत देखिएका व्यक्ति भए अस्पतालमा जान सुझाव दिन अनुरोध गर्नुभयो । उहाँले घर वा आसपासमा चमेरो देखिएमा फलफूल खाँदा ध्यान दिन अनुरोध गर्नुभयो । रुघाखोकी, ज्वरो वा जीउ दुख्ने भएमा स्वास्थ्यकर्मीको सल्लाहबिना जथाभाबी औषधी सेवन नगर्न पनि सुझाव दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल