alliance khabar

सोमबार, पुष २८, २०८२

काठमाडौँ, पुस २८ गते ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रारम्भ भएको छ । महाधिवेशनमा आइतबार दुई हजार ६६२ (५६.१२ प्रतिशत) प्रतिनिधि सहभागी भएका छन् । बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई सुदृढ बनाउने, जनभावना अनुरूपको नीति निर्माण गर्ने र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी रूपान्तरण र पुनर्निर्माणको दृढ उद्देश्यसाथ कांग्रेसको यो महाधिवेशन सुरु भएको हो ।

दुई हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएको तीन महिना पुग्न दुई दिनअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने भए पनि उक्त निर्णय नभएपछि केन्द्रीय कार्यालय अर्थात् महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा विशेष महाधिवेशन आरम्भ भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशनको मिति तय गरेको थियो तर विशेष महाधिवेशन आयोजक समितिले पार्टी विधान अनुसारै विशेष महाविधेशन आयोजना गरेको प्रस्टीकरण दिएको छ ।

कांग्रेस नेता एवं विशेष महाधिवेशन सचिवालयका सदस्य युवराज पाण्डेयका अनुसार उद्घाटनकै दिन दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन भएको छ । विशेष महाधिवेशन उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, संस्थापन इतर समूहको नेतृत्व गरिरहनुभएका नेता डा. शेखर कोइरालासहित शीर्ष नेतालाई निम्तो गरिए पनि उहाँहरू अनुपस्थित रहनुभयो ।

सभापति देउवानिकट पूर्वउपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य पुष्पा भुसालसहित निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने माग राख्नुभएका २५ जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी हुनुभयो । कार्यक्रमका अधिकांश वक्ताले पार्टी सभापति देउवा, कार्यवाहक सभापति खड्कासहित शीर्ष नेताहरू उद्घाटनमा अनुपस्थित भए पनि बन्दसत्रमा सोमबार सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन उद्घाटन गर्नुभयो ।

देश बदल्ने सङ्कल्प गर्छौं : थापा 

महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमार्फत देश बदल्ने सङ्कल्प गरिने बताउनुभयो । उहाँले विशेष महाधिवेशन शक्ति सङ्घर्ष, पार्टीभित्र सत्ताको सङ्घर्ष नभई विचारको सङ्घर्षका रूपमा अथ्र्याउनुभयो । उहाँले भन्नुभयो, “यो मूल्य र मान्यताको सङ्घर्ष हो ।”

उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै विशेष महाधिवेशन आह्वान गरिएको बताउनुभयो । उहाँले यत्रो घटना भइसकेपछि पार्टीले चुप लागेर बस्न नमिल्ने र यसलाई सामान्य घटनाका रूपमा पनि लिन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो उथलपुथल पछाडि एक पटक कांग्रेस अडिनु पर्छ । एक पटक पछाडि फर्कनु पर्छ । एक पटक आफैँभित्र पनि समीक्षा गर्नु पर्छ । कसैलाई गाली गरेर होइन, कसैलाई दोष लगाएर होइन । हामी पनि त्यही रेलभित्रै सवार छौँ । हामी आफैँले पनि जिम्मा लिनु पर्छ ।”

महामन्त्री थापाले नागरिकमा पार्टीहरूसँग निराशा र आक्रोश रहेकै कारण जेनजी आन्दोलनका क्रममा लाखौँ सडकमा उत्रिएको स्वीकार गर्नुभयो । उहाँले भ्रष्टाचार, कुशासन र बेथितिले नागरिक आक्रान्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा ‘नेपो–बेबी’ हरूको राज देखेर नागरिक रिसाएको हो । रिसाएकै हो नि ! चित्त दुखाएकै हो नि ! असन्तुष्ट भएकै हो नि ! हाम्रो अगाडिको प्रश्न, त्यसलाई हामीले अनदेखा गर्ने ? त्यसलाई हामीले बेवास्ता गर्ने ? त्यसलाई हामीले बुझ्ने, मनन गर्ने वा सम्बोधन गर्ने भन्ने हो ।”

उहाँले विशेष महाधिवेशनको बन्दसत्रले गर्ने निर्णय आफूले स्विकार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष महाधिवेशन कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन तर त्यो हाउसले जे निर्णय गर्छ, त्यो स्वीकार्य छ । मैले त्यसलाई मान्नु पर्छ ।”

महामन्त्री थापाले पार्टीभित्र कोही सानो, कोही ठुला नरहेको र सबैको हैसियत समान रहेको बताउनुभयो । उहाँले विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले बोलाउनुपर्ने भए पनि यस पटक तल्लो तहका सदस्य र महाधिवेशन प्रतिनिधिले बोलाएको बताउनुभयो । उहाँले सभापति, महामन्त्रीहरू जिम्मेवारीमा रहे पनि तल्लो तहमा बसेर काम गर्ने सदस्यसँग समान हैसियत रहने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ कोही ठुलो, कोही सानो छैन । पद मात्रै हो यो । जिम्मेवारी मात्रै हो । सबै बराबर हो । कांग्रेस भनेकै त्यही हो । यो सबैको साझा घर हो । सबैको हक छ यहाँ ।”

महामन्त्री थापाले देश समाल्ने जिम्मेवारीमा कांग्रेस रहेको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधान जोगाउँदै जनताको विश्वास फर्काउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सबैलाई समालेर लिएर जानुपर्ने छ । चुनाव केही ठुलो कुरा होइन । चुनाव आउँछ जान्छ । चुनाव कहिले जितौँला, कहिले हारौँला तर हाम्रो प्रणाली जोगाउनुपर्ने छ, संविधान पनि जोगाउनुपर्ने छ । त्योभन्दा बढी नागरिकको भरोसा जोगाउनुपर्ने छ ।”

विधिले जित्ने छ : शर्मा 

महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत पार्टीलाई रूपान्तरण गरिने बताउनुभयो । उहाँले विशेष महाधिवेशनमार्फत पार्टी विभाजन नभई पार्टीलाई एकजुट र जनविश्वास आर्जन गर्ने शक्तिका रूपमा रूपान्तरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीमा विग्रह ल्याउन लागे कि भन्ने पनि लाग्न सक्छ । प्रस्ट पार्न चाहन्छु– हामी पार्टी फुटाउन आएका होइनौँ, हामी पार्टी जुटाउन आएका हौँ । हामी पार्टी बिगार्न आएका होइनौँ, बिग्रिएको पार्टीलाई सच्याउन आएका हौँ । विशेष महाधिवेशनबाट कांग्रेसले जित्ने छ । विधिले जित्ने छ । अन्ततः नेपालले जित्ने छ ।”

महामन्त्री शर्माले विशेष महाधिवेशन आफूहरूको कर्तव्य रहेको बताउँदै समाजमा बढेको निराशालाई आशामा बदल्नका लागि विशेष महाधिवेशन गरिएको प्रस्ट पार्नुभयो । उहाँले नागरिकलाई जवाफ दिने, भरोसा दिने कांग्रेस चाहिएको र त्यसको यात्रा विशेष महाधिवेशनमार्फत सुरु भएको बताउनुभयो ।

उहाँले नेपाली समाजमा नवीन विश्वास भर्ने, पार्टीभित्र नवीन आत्मविश्वास भर्ने बताउँदै विशेष महाधिवेशनमा नागरिकका एक एक असन्तुष्टिलाई सघन ढङ्गले विमर्श गरेर समाधानको विन्दु पहिल्याउने प्रस्ट पार्नुभयो । उहाँले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद् हुने राजनीतिक ‘एक्जिस्ट’ को अवधारणालाई विशेष महाधिवेशनमा प्रस्तुत गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष महाधिवेशनमा विगतका गल्तीको समीक्षा हुने छ । गल्ती नदोहो¥याउने सङ्कल्प गरिने छ र विशेष महाधिवेशनले पारित गरेको प्रस्ताव नै नेपाली कांग्रेसको अबको बाटो हुने छ ।”

रूपान्तरित कांग्रेस, समुन्नत देश 

कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीलाई निर्णायक रूपान्तरणका लागि विशेष महाधिवेशन आयोजना गरिएको बताउनुभयो । उहाँले पार्टीका युवापङ्क्तिलाई अघि बढाएर रूपान्तरणको थालनी गर्नुपर्ने बताउनुभयो ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई बुझ्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्र र राष्ट्रियता खतरामा पर्ने अवस्था सिर्जना भएको बताउँदै कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक व्यवस्था कमजोर हुने भएकाले गम्भीर भएर आगामी यात्रा तय गर्न आग्रह गर्नुभयो ।

केन्द्रीय सदस्य पुष्पा भुसालले कांग्रेसभित्र उत्पन्न समस्या र नागरिकमा देखिएको निराशा अन्त्य गर्नेगरी काम गर्ने समय आएको बताउनुभयो । उहाँले विधानका आधारमा पार्टी चल्नुपर्नेमा जोड दिँदै अब गुटगत क्रियाकलापबाट अघि बढ्न खोजे नमान्ने प्रस्ट पार्नुभयो ।

कार्यक्रममा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, नेताहरू ओमकार श्रेष्ठ, मधेश आचार्य, सुरेन्द्र चौधरी, प्रदीप पौडेल, विनोद चौधरी, मधु आचार्य, डा. चन्द्रकान्त भण्डारी, देवराज चालिसे, प्रकाश स्नेही रसाइली, गुरुराज घिमिरेसहितका नेताहरूले कांग्रेस पार्टीको रूपान्तरणका लागि विशेष महाधिवेशनबाट नयाँ अध्याय प्रारम्भ हुने विश्वास व्यक्त गर्नुभयो ।

दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर 

विशेष महाधिवेशनको जिल्ला, क्षेत्र सम्पर्क एवं समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार आइतबार कुल चार हजार ७४३ मध्ये दुई हजार ६६२ (५६.१२ प्रतिशत) महाधिवेशन प्रतिनिधिको नामावली सङ्कलन भएको छ, जसमा कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४ र सुदूरपश्चिम प्रदेशबाट १५८ महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सामेल भएका छन् । त्यसै गरी उपत्यकाबाट १७८ र भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल