alliance khabar

सोमबार, मंसिर २९, २०८२

बागलुङ, मङ्सिर २९ गते ।

 हरेक वर्षको चौमासिकमा गलकोट र जैमिनी नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाइमा आउने नियमति प्रश्न हो, प्रशासकीय भवन कहिले बन्छ ?

कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगतीका सूचक देखाउने नगरपालिकाले आफ्नो प्रशासकीय भवन अलपत्र परेको, बनेको घर पूरा नभई जीर्ण बन्न थालिसकेको विषय चासोमा आउने गरेको छ । त्यो प्रश्नमा नगरप्रमुखदेखि प्रशासकीय प्रमुखले जवाफ दिन सकेका छैनन् ।

नगरपालिका मासिक डेढ लाख रुपियाँसम्म भाडा तिरेर बस्ने, आफ्नो भवन भने अलपत्र पर्ने क्रम वर्षौदेखिको हो । प्रश्नकर्ताले नियमित प्रश्न गरेपछि जवाफ दिन नसकेर नगरका जनप्रतिनिधिहरु हार खाइसकेका छन् । ‘‘न ठेकेदारलाई ल्याएर काममा लगाउन सकियो, न जनताको जवाफ चित्तबुझ्दो दिन सकियो’’ जैमिनी नगरका उपप्रमुख हरिहर शर्माले भन्नुभयो, ‘‘समयमा काम नहुँदा जनताको चित्त बुझाउन सकेका छैनौं ।’’

तोकिएको समयमा काम गरेको भए गलकोट र जैमिनीको भवन तीन वर्षअघि नै सम्पन्न भैसक्थ्यो । तर, यी भवनको हावा ढलानमै सिमित छन् । ठेकेदारको भनाइमा ६० प्रतिशतभन्दा बढी काम भएका छैनन् । ठेकेदारले अलपत्र छाड्दा प्रशासकीय भवनको ढलान मात्रै देखिन्छ । दुवै नगरपालिकाले २०७८ सालमा तीन वर्षका लागि भवन ठेक्का लगाएका थिए । २०८० सालमै म्याद सकिएपनि अझै ठेकेदारले काममा उर्जा देखाएका छैनन् ।

ठेकेदार कम्पनीले असार मसान्तमा आएर बहाना देखाइ म्याद थप गर्दै जाने गरेका छन् । तोकेको समयमा सकिनेमा भने ठेकेदार पनि विश्वस्त छैनन् । काम गर्नेभन्दा ठेक्का लिएर ओगट्ने प्रवृत्ति हावी हुँदा काम अलपत्र पर्ने गरेको उपप्रमुख शर्माको टिप्पणी छ ।

ठेकेदार कम्पनी रफिना, प्राकृतिक, जुगल संयुक्त निर्माण कम्पनीले जैमिनीको प्रशासकीय भवन निर्माणका लागि ६ करोड १७ लाख र गलकोटको भवनका लागि १२ करोड ४१ लाख ५५ हजार रुपियाँमा ठेक्का लिएको थियो । नगर उपप्रमुखले शर्माले ठेकेदारलाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न ताकेता गरेको बताउनुभयो ।

जैमिनीले मासिक डेढ लाख रुपियाँ घर भाडामा तिर्ने गरेको छ । अहिले पनि कुश्मीसेरा बजारका तीनवटा घरको पुरै र केही अन्य घरमा विभिन्न शाखा राखेर नगरपालिका सञ्चालन गरिएको छ । गलकोटले पनि दुई वटा घर भाडााम लिएको छ । समयमै भवन नबन्दा कार्यपालिका बैठक बस्ने समेत असहज भएको प्रतिनिधिको गुनासो छ ।

रफिना, प्राकृतिक, जुगल संयुक्त निर्माण कम्पनीका प्रतिनिधि नरेश ओझाले कोरोनाा ढिलाई भएपनि आगामी दिनमा काम समयमै सक्ने प्रतिवद्ध जनाउनुभएको छ ।

पालिकाको प्रशासकिय भवन ठेक्का लिएको ठेकेदारले बागलुङ नगर अस्पताल निर्माणमा पनि ढिलाइ गरेको छ । एक वर्षमा सक्नेगरी निर्माण थालिएको अस्पतालको भवन तीन वर्ष बित्दा सम्पन्न हुन सकेको छैन । बागलुङ नगरपालिका वडा नं. १४ स्थित नारायणस्थान स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नति गर्ने नगरपालिकाको योजना हो ।

निर्माण व्यवसायीको ढिलासुस्तीले तीन वर्ष बितिसक्दा पनि अस्पतालको भवन निर्माण अधुरै छ । सङ्घीय सरकारको विशेष अनुदानमा २०७९ माघ ६ मा एक वर्षमा सक्नेगरी अस्पतालको भवन निर्माण थालिएको इन्जिनियर सोबिन घर्तीले बताउनुभयो । ‘‘दुई पटक थपेको म्याद सकिए पनि भवनको कहिले सकिन्छ अन्यौल छ’’ घर्तीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल