काठमाडौँ , मङ्सिर २७ गते ।
जेन जी पुस्ताले उठाउँदै आएको सुशासनका एजेन्डालाई सहकारी आन्दोलन मार्फत संस्थागत रुपमा अघि बढाइरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा हाल संस्थाको सल्लाहकार परिषद्का संयोजक योगेन्द्र कुमार कुँवरले बताउनुभएको छ।
काठमाडौँमा आयोजित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभाका प्रमुख अतिथि कुँवरले युवा पुस्ताले उठाएको पारदर्शिता , जवाफदेहिता र सहभागीमूलक शासन प्रणालीका विषयहरू सहकारी आन्दोलन मार्फत उठाइरहेको बताउनुभएको हो।
” सहकारी क्षेत्र सुशासनको अभ्यास गर्ने सबैभन्दा प्रभावकारी माध्यम हाे । आजको जेन जी पुस्ता सुशासन, उत्तरदायित्व र सामाजिक न्यायको पक्षमा सचेत छ। यी एजेन्डालाई हामीले सहकारी आन्दोलन मार्फत व्यवहारमा उतारीरहेका छौं । सहकारी मार्फत समुदायको आर्थिक सशक्तिकरणसँगै सुशासनको संस्कार विकास गर्न सकिने उहाँले बताउनुभयो ।”
उहाँले, यस चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पारदर्शी व्यवस्थापन , सदस्यहरूको सक्रिय सहभागिता , प्रविधिको उच्चतम प्रयोग तथा संस्थाले अवलम्बन गरेको वित्तीय अनुशासनको नीतिले २५ जना सदस्यबाट सुरु भएको संस्था हाल २५ हजारभन्दा बढी सदस्यहरू रहेका र उक्त सदस्यहरूको विश्वास भरोसा जित्न सफल हुँदै गएको बताउनुभयो ।
सहकारी आन्दोलनले युवालाई नेतृत्वमा ल्याउँदै सकारात्मक परिवर्तनको आधार तयार गरिरहेको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागी अन्य विशिष्ट व्यक्तित्वहरूले सहकारी सम्बन्धी आ – आफ्ना धारणा राख्नुभएको थियो।
सभामा संस्थाका सम्पूर्ण सदस्यहरूलाई आमन्त्रण गरिनुका साथै संस्थाको २४ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।
हाल संस्थाको कुल पूँजी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।


