alliance khabar

मंगलबार, मंसिर ०२, २०८२

पश्चिम नवलपरासी, मङ्सिर २ गते ।

 पश्चिम नवलपरासीको सिद्धिविनायक आयल्स प्रालिले फैलाएको प्रदूषणको विषयलाई लिएर जिल्लास्थित उद्योग वाणिज्य संघ (उवासंघ) र केही राजनीतिक दलका प्रतिनिधिहरूबिच विवाद चर्किएको छ । प्रदूषण नियन्त्रणका लागि गरिएको अनुगमनको क्रममा उत्पन्न परिस्थितिले गर्दा दुई पक्षबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको हो ।

प्रदूषण र अनुगमनको पृष्ठभूमि
रामग्राम नगरपालिका–१५ सुक्रौलीस्थित सिद्धिविनायक आयल्स प्रालीबाट निस्कने प्रदूषित पानी व्यवस्थित नगरिँदा वडा नम्बर १५ र १६ देखि लंकहवा, जमुनिया, हकुई हुँदै पाल्हीनन्दनको सनईसम्मको बस्तीमा प्रदूषण फैलिएको छ । उद्योगको फोहोर पानी नजिकैको खोल्सा÷कुलोमा मिसाउँदा मानिसमा छाला चिलाउने रोग, पशुचौपायामा खोरेतजस्तो छाला उक्किएर जाने समस्या तथा पशु चौपायासमेत मरेको स्थानीयको गुनासो छ ।

सोही गुनासोको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारी, जनता समाजबादी पार्टी  (जसपा) का  जिल्ला अध्यक्ष धरेन्द्र यादव, लोकतान्तिक  समाजबादी पार्टी (लोसपा)का जिल्ला अध्यक्ष मुकुरजी गिरीलगायतका राजनीतिक प्रतिनिधि, र सम्बन्धित वडाका जनप्रतिनिधिसहितको टोलीले एक साताअघि उद्योगको अनुगमन गरेको थियो ।

अभद्र व्यवहारको आरोप र जाहेरी
अनुगमनका क्रममा उद्योग सञ्चालक रामगोपाल गोयन्काले आफूहरूलाई ‘दलाल’, ‘ठग’ लगायतका अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेको भन्दै राजनीतिक दलका प्रतिनिधिहरूले जिल्ला प्रहरी कार्यालयमा ‘अभद्र व्यवहारसम्बन्धी कसुर’ मा मुद्दा चलाउन जाहेरी दिनुभएको छ । यद्यपि, प्रहरीले भने जाहेरी दर्ता गरेको छैन ।

उवासंघको ध्यानाकर्षण र अडान
राजनीतिक दलका प्रतिनिधिले उद्योग सञ्चालकमाथि उजुरी दिएको थाहा पाएपछि नवलपरासी उद्योग वाणिज्य संघले राजनीतिक दलका प्रतिनिधिहरूको व्यवहारप्रति प्रशासनको ध्यानाकर्षण गराएको छ ।

उवासंघका अध्यक्ष ओमप्रकाश अग्रहरीसहित पदाधिकारीहरूले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण पत्रमा अनुगमनका क्रममा उद्योग सञ्चालकलाई गरिएको गाली गलौजसहितको व्यवहार असहमति प्रकट गरेको छ । यद्यपि, ध्यानाकर्षण पत्रमा उद्योगले फैलाएको प्रदूषण नियन्त्रण गर्ने विषयमा भने उवासंघ मौन रहेको छ । यस बारे जिल्ला प्रशासन दुवै पक्ष लाई सहजीकरण गर्ने पक्षमा छ  ।

प्रहरीको प्रतिक्रिया र स्थानीयको चेतावनी
जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) अनुपम श्रेष्ठले राजनीतिक दलहरूको जाहेरी आएको स्वीकार गर्दै पहिलो चरणमा उद्योग सञ्चालकसँग पनि कुरा बुझेपछि मात्र जाहेरी दर्ता हुने वा नहुनेबारे निर्णय हुने बताउनुभएको छ ।

यता, चार वर्षअघिदेखि सञ्चालनमा आएको उद्योगको प्रदूषण नियन्त्रणका लागि पटक पटक जिल्ला प्रशासनमा जाँदासमेत सुनुवाइ नभएको भन्दै स्थानीय बासिन्दाले अब आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो घटनाले प्रदूषण नियन्त्रणको मुद्दालाई लिएर व्यावसायिक हितको पक्षधर र जनस्वास्थ्यको पक्षधरहरूबिच पश्चिम नवलपरासीमा देखिएको गहिरो मतभेदलाई उजागर गरेको छ । दुवै पक्षका अडान र प्रशासनिक प्रतिक्रियाले यो विवाद अझै केही समय लम्बिन सक्ने सङ्केत दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल