alliance khabar

आइतबार, आश्विन २६, २०८२

काठमाडौँ, असोज २६ गते ।

जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको डेढ अर्बभन्दा बढी रुपियाँ भुक्तानी भएको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपियाँ भुक्तानी भइसकेको हो । प्राधिकरणका अनुसार अहिलेसम्म दर्ता भएका तीन हजार ९९ वटा दाबीबापत २४ अर्ब ८१ करोड ४३ लाख रुपियाँ बराबरको दाबी माग आएको छ । भुक्तानीपछि १४ वटा निर्जीवन बिमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीले २३ अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

सम्पत्ति बिमा दाबीको मूल्याङ्कन एवं अनुगमनका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरबाट हालसम्ममा ५२ वटा सर्भे प्रतिवेदन प्राप्त भएको निर्जीवन बिमकहरूले जानकारी दिएको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताउनुभयो ।

बिमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बिमाबापतको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यस्तै सङ्ख्याको आधारमा धेरै मोटर बिमाबापतको भुक्तानी भएको छ । सम्पत्ति बिमामा ६५३ वटा दाबी परेकोमा हालसम्म एक अर्ब ३२ करोड ७२ लाख रुपियाँ भुक्तानी भइसकेको छ । सम्पत्ति बिमा अन्तर्गत १९ अर्ब छ करोड ७६ लाख रुपियाँ दाबी परेको थियो ।

मोटर बिमामा दुई हजार २०६ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब २४ करोड ९१ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । मोटर बिमा अन्तर्गत करिब तीन अर्ब ४१ करोड छ लाख रुपियाँ दाबी परेको थियो ।

आन्दोलनका क्रममा मोटरमा भएको क्षतिको मूल्याङ्कन एवं अनुगमनका लागि एक हजार ९३९ वटा दाबीका लागि बिमा सर्भेयर खटाइएको र सर्भेयरले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको जानकारी बिमकले दिएका छन् ।

यस्तै इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ ३८ करोड तीन लाख रुपियाँ दाबी परेकोमा अहिलेसम्म करिब ८७ लाख रुपियाँ दाबी भुक्तानी भएको प्राधिकरणको तथ्याङ्क छ । यस किसिमको क्षति मूल्याङ्कन एवं अनुगमनका लागि १२६ वटा दाबीका लागि बिमा सर्भेयर खटाइसकिएको र सर्भेयरबाट हालसम्ममा पाँच वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बिमकले दिएका छन् ।

यसै गरी परिवहन बिमातर्फ बिमा दाबी १२ वटा र दाबी रकम करिब एक करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवं अनुगमनका लागि बिमकले ११ वटा दाबीका लागि बिमा सर्भेयर खटाएको प्राधिकरणले जनाएको छ ।

अन्य बिमातर्फ बिमा दाबी ३८ वटा परी दाबी रकम करिब ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिब पाँच लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

अन्य बिमातर्फको क्षतिको मूल्याङ्कन एवं अनुगमनका लागि ३६ वटा दाबीका लागि बिमा सर्भेयर खटाइएको र सर्भेयरबाट तीन वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बिमा कम्पनीले दिएका छन् । प्राधिकरणले बिमकबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन गरिरहेको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल