बागलुङ, भदौ ३१ गते ।
भदौको महिनाभरि ढोरपाटन सिकार आरक्षको ‘बुकीपाटन क्षेत्र’ मा पर्यटकको लर्को लाग्ने क्रम चलिरहेको थियो । कुनै समय फरक विश्व जस्तो लाग्ने ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दा त्यहाँका होटेल व्यवसायसँंगै गोठस्टे (खर्क गोठमा बस्ने) समेत फस्टाउँदै थिए । एकाएक जेनजीको आन्दोलन भयो, यहाँ आउने पर्यटक बाटोमै रोकिए, यहाँ आएका पर्यटक पनि त्रासमा बस्न बाध्य भए ।
ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको निर्माण, बुकीपाटन र जलजला क्षेत्रमा पदयात्रामा रमाउनेको आगमनले यो वर्षको असार याममा मात्रै झन्डै २० हजार पर्यटक त्यहाँ पुगेका छन् । सडकको सहज पहुँच र होटेल व्यवसायको विस्तारले ढोरपाटनमा पर्यटकको लर्को नै लाग्न थालेको थियो । ढोरपाटनसहित शालग्राम सङ्ग्रहालयले पश्चिमको राराताल जाने पर्यटकदेखि मुस्ताङ जानेको प्रवेशद्वारका रूपमा बागलुङलाई लिने गरिन्छ ।
यो याम पर्यटक घुमफिरमा रमाउने बेला हो तर जेनजी आन्दोलनले बागलुङमा पर्यटकीय गतिविधि शून्य जस्तै पारिदिएको छ । पोखरामा आउने पर्यटक बागलुङ घुम्न छुटाउँदैनथे । यहाँ बनेको एसियाकै लामो झोलुङ्गे पुल, धार्मिक गन्तव्य पञ्चकोट र शालग्राम सङ्ग्रहालय घुम्न पर्यटकले छुटाउँदैनथे । आन्तरिक र बाह्य पर्यटकले बागलुङका होटेल चलायमान हुने बेला जेनजी आन्दोलनले सुनसान बनेका छन् ।
बागलुङमा होटेल तथा पर्यटन व्यवसाय प्रमुख रोजगारको आधार हो । जिल्लाका धार्मिक र पर्यटकीय गन्तव्यसहित मुक्तिनाथ र मुस्ताङ घुम्नेको प्रवेशद्वारका रूपमा चिनाउन सक्दा राम्रो व्यवसाय गर्न सकिने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन शाक्यले बताउनुभयो । पछिल्लो समय मध्यपहाडी लोकमार्गको बाटोले राराताल जाने पर्यटकसमेत बागलुङ आउने वातावरण बनेकोमा जेनजी आन्दोलनले व्यवसाय चौपट बनेको गुनासो उहाँको छ ।
शाक्यले भन्नुभयो “सहज वातावरण बनेकै अवस्थामा पनि पर्यटकका रूपमा घुम्ने संस्कृति कसरी सुधार होला भन्ने धेरैको चिन्ताको विषय बनिरहेको बेला जेनजीको आन्दोलनले हामीलाई पर धकेलिदियो ।
यो मौसममा यहाँका होटेलमा पाहुना राख्न भ्याइनभ्याइ हुनुपर्ने हो तर गेट बन्द गरेर बस्नुपर्ने अवस्था आइलागेको छ । होटेल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले भन्नुभयो, “आन्दोलनले व्यवसायमा ठुलो मार परेको छ ।” राज्यले शान्तिको प्रत्याभूत दिनुपर्ने बेला राज्यविहीन, सरकारविहीनको अवस्थामा गुज्रिनु परेको उहाँले दुःखेसो गर्नुभयो ।
पर्यटकीय मौसममा भएको आन्दोलनले आएका पर्यटक पनि फर्किन थालेको होटेल व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखाल बताउनुहुन्छ । व्यवसायमा बढेको निराशा चिर्ने गरी कार्यक्रम आउनुपर्ने उहाँको भनाइ छ । आन्दोलनले देशमा सुशासन कायम भए पनि त्यसको प्रतिफल पाउनेमा चोखालले चिन्ता व्यक्त गर्नुभयो ।