भारदह(सप्तरी), भदौ ३१ गते ।
जेनजीको आन्दोलनमा राजविराजका करिब दुई दर्जनभन्दा बढी कार्यालय तोडफोड, आगजनी र लुटपाट भए पनि भूमि सुधार तथा मालपोत कार्यालय जोगिएको छ ।
एउटै एरियामा रहेको सरकारी वकिलको कार्यालय, सप्तरी जिल्ला अदालत, उच्च अदालत जनकपुर राजविराज इजलास, करसेवा केन्द्र राजविराज, जिल्ला हुलाक कार्यालय, भौतिक पूर्वाधार कार्यालय, सघन सहरी डिभिजन कार्यालय, जिल्ला हुलाक कार्यालय, राजविराज नगरपालिका लगायत एक दर्जन कार्यालयमा तोडफोड र आगजनी भएर पूर्ण रूपले क्षति भए पनि लेखापढी व्यावसायी, कर्मचारी, स्थानीय केही व्यापारी र सेवाग्राहीको सहयोगमा मालपोत कार्यालय सप्तरी जोगिएको हो ।
यसरी जोगियो कार्यालय
जेनजीको आन्दोलनको दोस्रो दिन मङ्गलबार ११/१२ बजेदेखि राजविराजमा पनि प्रभाव पर्न थालेको थियोे । प्रदर्शनकारीहरूले जिल्लाका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको कार्यालयका कर्मचारीहरूले सुने एकैछिनमा सामाजिक सज्जालहरूमा पनि देखिन थाल्यो ।
पार्टी कार्यालयहरूमा आगजनी र तोडफोड गरिसकेपछि प्रदर्शनकारीहरूको रोजाइमा स्थानीय तहको कार्यालय र राजविराजस्थित रहेको सरकारी कार्यालयहरू पर्यो । एउटै रोडमा रहेको करिब एक दर्जन कार्यालयमा प्रदर्शनकारीहरूले धमाधम तोडफोड, आगजनी र लुटपाट गरेको भिडियो कर्मचारीहरूले हेरिरहे ।
केही कर्मचारी काम छोडेर बाहिर निस्केर प्रदर्शनकारीलाई सम्झाउने सल्लाह गरेर कार्यालय परिसरमा उभिए । एकै छिनमा आन्दोलनकारीको हुल यस कार्यालयमा आइपुग्यो । हुल तोडफोड र आगजनी गर्ने प्रयासमा लागे । कर्मचारी, केही सेवाग्राही, लेखापढी व्यवसायी तथा स्थानीय केही व्यापारीले मालपोत कार्यालयको कागजको महत्त्वको विषयमा सम्झाए । यस कार्यालयमा क्षति भयो भने हामीले स्थानीयले भोग्नुपर्ने समस्याको विषयमा सम्झाएपछि आन्दोलनकारी फर्केको कार्यालयका कर्मचारी बैजु देवले बताउनुभयो ।
एक जनप्रतिनिधिले भन्नुभयो, ‘‘कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट भइरहदा स्थानीयहरू भिडियो खिचेर मुख दर्शक भएर बसे । यस्ता क्रियाकलाप गर्न लाग्दा स्थानीयले प्रदर्शनकारीहरूलाई सम्झाएर रोक्न पहल गरेको भए स्थानीय तहको कार्यालय र सरकारी कार्यालयहरूले यति क्षति ब्यहोर्नु पर्ने थिएन् ।
यस सम्बन्धमा भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख भुपेन्द्र राईले हामीले काठमाडौँदेखि जिल्लासम्मको माहोल हेरेर समयमै सर्तकता अपनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले प्रदर्शनकारीलाई बुझाउन सफल भएकाले यस्तो सम्भव भएको हो ।’’