alliance khabar

सोमबार, भाद्र ०९, २०८२

काठमाडौँ, भदौ ९ गते ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबिच हवाईसेवा, लगानी एवं सूचना प्रविधिसहितका विषयमा द्विपक्षीय साझेदारी गर्ने सन्दर्भमा परामर्श भएको छ । उपराष्ट्रपति यादव र तीनदिने औपचारिक भ्रमणमा आउनुभएकी भियतनामका उपराष्ट्रपति सुआनबिच आइतबार सम्पन्न प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा दुवै देशबिच नवीन साझेदारीको अध्याय प्रारम्भ गर्ने समझदारी भएको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा नेपाल आउनुभएकी उपराष्ट्रपति सुआनबिच मुख्य सात विषयमा कुराकानी भएको छ । प्रवक्ता पौडेलले भन्नुभयो, “नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मै भियतनामको भ्रमण गर्नुभएको थियो तर भियतनामका तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण हो । त्यसैले यो भ्रमण महत्वपूर्ण छ । साथै दुई देशका उपराष्ट्रपतिबिचको भेटवार्तामा द्विपक्षीय सम्बन्ध बलियो बनाउने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयामबारे संवाद भएको छ ।”

हवाईसेवा र लगानीबारे छलफल 

उपराष्ट्रपति यादव र भियतनामका उपराष्ट्रपति सुआनबिचको प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा पर्यटन प्रवर्धन, आर्थिक विकास र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको छ ।  प्रवक्ता पौडेलका अनुसार भियतनाम बौद्ध धर्मावलम्बी बहुल राष्ट्र भएकाले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई सहज आवतजावतको व्यवस्था मिलाउने विषयमा छलफल भएको छ । उहाँले भन्नुभयो, “पर्यटन प्रवर्धनका लागि नेपाल र भियतनामबिच सिधा हवाई उडान सुरु गर्ने विषयमा विमर्श भएको छ । अहिले सिधा उडान छैन, सिधा उडान भएमा दुवै देशको पर्यटन प्रवर्धनमा सहयोग पुग्छ भन्ने छलफलको निष्कर्ष हो ।”

व्यापार सम्झौताबारे चासो 

उपराष्ट्रपति यादव र भियतनामका उपराष्ट्रपति सुआनबिचको भेटवार्तामा भियतनामको प्रतिनिधिमण्डलले व्यापार एवं लगानीसम्बन्धी सम्झौता चाँडै गर्नुपर्नेमा जोड दिएको छ ।

प्रवक्ता पौडेलले लगानी सुनिश्चित गर्ने, डिजिटल प्रविधिमा साझेदारी गर्ने तथा व्यापार तथा लगानीको विषय अघि बढाउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक रूपमा उदाउँदो राष्ट्र हो भियतनाम । व्यापारसँगै विकासको गति लिइसकेको देश हो । भियतनामको विकास, उन्नति, प्रगतिका अनुभवबारे छलफल भयो । साथै भियतनामको प्रतिनिधिमण्डलले लगानी र व्यापार सम्झौता चाँडै होस् भन्ने चाहना व्यक्त गरेको छ ।” उहाँका अनुसार उच्चस्तरीय भेटवार्तामा जनता–जनताबिचको सम्बन्ध विकास गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा साझेदारी गर्ने तथा दुवै मुलुकबिचको मित्रवत् सम्बन्ध र सार्वभौमिक पक्षको सम्मानमा आधारित रही अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने विषयमा पनि संवाद भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा नन अलाइन्मेन्ट मुभमेन्ट (नाम) का सदस्य राष्ट्रका रूपमा नेपाल र भियतनामबिच शान्ति स्थापना र विकासमा सहकार्य गर्ने सन्दर्भमा पनि परामर्श भएको छ ।

कूटनीतिक सम्बन्ध बलियो बनाइने 

प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका उपराष्ट्रपति सुआनबिच दुई देशबिचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने सन्दर्भमा विमर्श भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न भेटवार्तामा दुई देशबिच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा परामर्श भएको हो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उहाँहरूबिच दुई देशबिच सरकार–सरकार, व्यवसायी–व्यवसायी र जनता–जनताबिचको सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको छ । उहाँहरूबिच कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ बलियो बनाउने सन्दर्भमा पनि छलफल भएको छ ।

यसै गरी आइतबारै नेपाल र भियतनामको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सकका अवसरमा विशेष समारोहको आयोजना गरियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । साथै उहाँले पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ मन्दिर एवं प्राचीन सम्पदा अवलोकन गरी सोमबार स्वदेश फर्किनुहुने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल