alliance khabar

आइतबार, भाद्र ०८, २०८२

किएभ, भदौ  ८ गते ।

 युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ । ड्रोन आक्रमणबाट युक्रेनी स्वतन्त्रता दिवसको अवसरमा आणविक ऊर्जा संयन्त्रमा आगलागी गराएको छ भने हालैका शान्ति प्रयासहरूको आशा मेटाएको छ ।

रुसी र युक्रेनी राष्ट्रपतिहरू बीच शिखर बैठकका लागि मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबलाई लिएर भ्लादिमिर पुटिन र भोलोदिमर जेलेन्स्कीबिच तत्काल कुनै बैठक नहुने घोषणा रुसले गरेपछि शुक्रबार शान्ति सम्भावना कमजोर भएको थियो ।

साढे तीन वर्षदेखि जारी युद्धले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ । सङ्घर्ष अब गतिरोधमा पुगेको देखिए पनि रुसले पूर्वी डोनेट्स्क क्षेत्रमा दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ ।

युक्रेनले आइतबारको नयाँ आक्रमणमा रूसी भूभागमा ड्रोन आक्रमण गर्दा पश्चिमी रुसको कुस्र्क आणविक ऊर्जा संयन्त्रलाई लक्ष्य बनाएको थियो । आक्रमणपछि विस्फोट र आगलागी भयो । तर संयन्त्रका अधिकारीहरूले आगो निभाइसकेको र कुनै हताहत वा विकिरण स्तर बढेको नदेखिएको जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि नै आणविक संयन्त्र नजिकका लडाइँहरू गम्भीर जोखिम भएको चेतावनी दिँदै आएको छ ।

रूसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता टाढा क्षेत्रसम्म खसालिएको बताएका छन् । फिनल्यान्डको खाडीस्थित उस्ट–लुगा बन्दरगाहमा १० ड्रोन आक्रमणपछि रूसी ऊर्जा समूह नोभाटेकको स्वामित्वमा रहेको इन्धन टर्मिनलमा आगलागी भएको गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले टेलिग्राममार्फत बताउनुभयो ।

विशेषगरी रुसको तेल पूर्वाधारलाई निशाना बनाएर मस्कोको युद्धका लागि आवश्यक आम्दानीमा प्रहार गर्ने उद्देश्यले युक्रेनको सानो तर लडाइँमा प्रतिबद्ध सेना ड्रोनमाथि ठुलो भर परिरहेको छ । युद्ध सुरु भएदेखि रुसमा इन्धनको मूल्य बढेको छ ।

यसैबिच युक्रेनले रुसले रातभर ब्यालेस्टिक मिसाइल र ७२ इरानी निर्मित ‘साहेद’ ड्रोन आक्रमण गरेको दाबी गरेको छ । ती आक्रमणमा युक्रेनी हवाई सेनाले ४८ वटा खसालेको बताइएको छ । रूसी ड्रोन आक्रमणमा पूर्वी ड्निप्रोपेट्रोभस्क क्षेत्रमा ४७ वर्षीया महिलाको मृत्यु भएको गभर्नरले जनाएका छन् ।

युक्रेन लडाकू हो 

सन् १९९१ मा सोभियत सङ्घको विघटनसँगै स्वतन्त्र बनेको युक्रेनले यसपटक स्वतन्त्रता दिवस युद्धबिच मनाएको छ ।

“युक्रेनले शान्तिको आह्वान गर्दा पनि यस्तो आक्रमण भइरहेका छन्”, राष्ट्रपति जेलेन्स्कीले आफ्नो सम्बोधनमा भन्नुभयो, “आज अमेरिका र युरोप दुवै सहमत छन् ः युक्रेन अझै पूर्ण विजय हासिल गर्न सकेको छैन, तर पराजित पनि भएको छैन । युक्रेनले आफ्नो स्वतन्त्रता सुरक्षित गरेको छ । युक्रेन पीडित होइन यो लडाकू राष्ट्र हो ।”

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि किएभमा पुगेर ‘युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति’ को माग गर्दै ऐक्यबद्धता जनाउनुभएको छ ।

जेलेन्स्कीले ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, बेलायती राजा चाल्र्स र पोपलगायत अन्य विश्व नेताहरूले पठाएका सन्देशप्रति आभार व्यक्त गर्नुभयो ।

रुसले हाल क्रिमियन प्रायद्वीपसहित युक्रेनको करिब पाँचौँ भाग नियन्त्रणमा लिएको छ । क्रिमियन प्रायद्वीप रुसले सन् २०१४ मै कब्जा गरेको थियो । युद्धले लाखौँ मानिसलाई घरबारविहीन बनाएको छ र पूर्वी तथा दक्षिणी युक्रेनका सहर तथा गाउँहरू ध्वस्त पारेको छ ।

पुटिनले युक्रेन र पश्चिमतर्फबाट आएका तत्काल र बिना शर्त युद्धविरामका आह्वानलाई बारम्बार अस्वीकार गर्दै आउनुभएको छ ।

शुक्रबार रूसी विदेशमन्त्री सर्गेई लाभरोभले ‘पुटिन र जेलेन्स्कीबीच कुनै बैठकको योजना नरहेको’ बताउनुभएको थियो । उहाँले ट्रम्पको मध्यस्थता प्रयास अवरुद्ध भएको देखिएको बताउनुभयो ।

यसैबीच, जेलेन्स्कीले रुसमाथि आक्रमणलाई लम्ब्याउने आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल