बेइजिङ, साउन १७ गते ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका अवसरमा चीनको युनान प्रान्तको कुनमिङ्गस्थित युआनोथोङ बिहारमा नेपाली बुद्ध मूर्ति स्थापना गरिएको छ । एक हजार दुई सय वर्ष पुरानो सो बिहारमा स्थापित सुनको लेपन गरिएको ७० किलोको बुद्ध मूर्ति नेपाल–चीन कार्यकारी परिषद् उपहारस्वरूप प्रदान गरेको हो ।
युनानको युनान बुद्धिस्ट सङ्घद्वारा शुक्रबार कुनमिङ्गमा आयोजित कार्यक्रममा युनान बुद्धिस्ट सङ्घका अध्यक्ष सिन मिङ्ग, बिहार प्रमुख गुरु चुनका, बेइजिङस्थित नेपाली राजदूतावासकी उपप्रमुख रोशन खनाल र नेपाल–चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले संयुक्त रूपमा बुद्ध मूर्तिको अनावरण गर्नुभएको हो । कार्यक्रममा युनान बुद्धिस्ट सङ्घका अध्यक्ष मिङ्गले नेपाल–चीन दुवै देशलाई बौद्ध धर्मले जोडेको चर्चा गर्दै बौद्ध संस्कृतिका लागि नेपाल महत्वपुर्ण स्रोत रहेको बताउनुभयो ।
उहाँले चीन र नेपालबिचको सम्बन्ध परापूर्वकालदेखि नै रहेको उल्लेख गर्दै १६०० वर्षअघिदेखि दुवै देशका बौद्ध भिक्षु्ले एकअर्काको देशमा भ्रमणको आदानप्रदान गरेको स्मरण गर्नुभयो । बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले युनान प्रान्तको सबैभन्दा पुरानो र महत्वपुर्ण बिहारमा बुद्धको मूर्ति स्थापना गर्नाले मूर्तिको महत्व अझ बढेको चर्चा गर्दै नेपाल–चीन मित्रताको प्रतीकका रूपमा बुद्ध मूर्ति रहिरहने बताउनुभयो ।
परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले नेपाल र चीनबिचको साझा सम्पदाका रूपमा बौद्ध संस्कृति रहेकाले पारस्परिक सम्मान, क्षेत्रीय प्रभाव र शान्तिपूर्ण सहअस्तित्वको दृष्टिकोणलाई यसले बढावा दिने बताउनुभयो । कार्यक्रममा युनान प्रान्तका अधिकारी, बुद्धिस्ट सङ्घका पदाधिकारी, बौद्ध भिक्षु, युनानमा अध्यनरत नेपाली विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।