काठमाडौँ ,असार २५ गते।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सरकारले साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगहरूका बिरामीलाई प्रत्यक्ष राहत दिने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ।
सरकारको पूर्व प्रतिबद्धता अनुसार अबदेखि क्यान्सर, मुटु रोग, मृगौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर भएका बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले बताउनुभयो।
उहाँले भन्नुभयो “हामी स्वास्थ्य बीमालाई जनमुखी तथा प्रभावकारी बनाउँदैछौँ र आम नागरिकको सरोकार, सुझाव र आलोचनालाई स्वागत गर्दै अघि बढ्नेछौँ।”
यस नीतिगत निर्णयसँगै देशभरका आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूलाई समयमै उपचार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। आगामी दिनमा अन्य गम्भीर रोगलाई पनि स्वास्थ्य बीमामा समेट्दै लैजाने सरकारको योजना रहेको मन्त्रालयले बताएको छ।