alliance khabar

शुक्रबार, आषाढ २०, २०८२

काठमाडौँ, असार २० गते ।

 प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी शुक्रबार (आज) स्वदेश फर्कंदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ असार १४ गते स्पेन प्रस्थान गर्नुभएको थियो ।

भ्रमणको अन्तिम दिन बिहीबार उहाँले स्पेनमा रहेका नेपाली समुदायसँग पनि भेट गर्नुभयो ।

बिहीबार नै प्रधानमन्त्री ओली दोहा हुँदै नेपाल फर्कने क्रममा रहनुभएको छ । उहाँ शुक्रबार अपराह्न काठमाडौँ आइपुग्नुहुने जनाइएको छ । अन्तर्राष्ट्रिय विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एक दशकको अन्तरालमा स्पेनको सेभिया सहरमा आयोजना गरिएको थियो ।

सम्मेलनको पूर्वसन्ध्यामा असार १५ गते नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै नागरिक समाजको भूमिकाको चर्चा गर्नुभयो । सोही दिन स्पेनका प्रधानमन्त्री तथा स्पेन सरकारका अध्यक्ष पेद्रो सान्चेजसँग प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको द्विपक्षीय भेटवार्तामा भावी सहकार्य र सम्मेलनका बारेमा छलफल भयो । सोही रात स्पेनका नरेशद्वारा राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरिने रात्रिभोजमा सरिक हुनुभयो ।

असार १६ गते बिहान अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै दिउँसो गेट्स फाउन्डेसनद्वारा आयोजना गरेको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो । अपराह्न नेपालका प्रधानमन्त्री एवं अल्पविकसित राष्ट्रहरू (एलडिसी) को अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । दिउँसो र साँझ विभिन्न मुलुकका उच्च नेतृत्वसँग भेटवार्ता गर्नुभयो ।

राति स्पेन सरकारका महामहिम अध्यक्ष तथा प्रधानमन्त्रीद्वारा दिइएको औपचारिक रात्रिभोजमा सरिक हुनुभएको थियो ।  भ्रमणको चौथो दिन असार १७ गते बिहान प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासहित सम्बोधन गर्नुभयो । स्पेन सरकारका अध्यक्ष पेद्रो सान्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यबद्धतामा लगानी : विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो ।

सोही दिन प्रधानमन्त्री ओलीले नेपाल सरकार, बङ्गलादेश, लाओस र संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक (युएनआरसी) को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिका लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था विषयक उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुभएको थियो । नेपाल र बुरुन्डीको सहआयोजनामा भएको राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह विषयक कार्यक्रममा पनि प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो ।

त्यस्तै गरी अपराह्न नै अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन विषयमा आयोजित राउन्ड टेबलमा प्रधानमन्त्रीले सुझावसहितको सम्बोधन गर्नुभयो । स्पेनका लागि नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सरिक हुनुभयो  । पाँचौँ दिन असार १८ गते प्रधानमन्त्री ओली सेभियाबाट म्याड्रिड पुगेर उद्योगी व्यवसायीहरूको ‘नेपाल–स्पेन बिजनेस तथा लगानी प्रवर्धन साँझ’ कार्यक्रममा सहभागी हुनुभएको थियो ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मेड्रिडस्थित प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । युरोपकै पुरानोमध्येको सो कला सङ्ग्रहालयका अध्यक्ष जाबियर सोलानेले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो । सङ्ग्रहालयमा युरोप र स्पेनका इतिहास, संस्कृतिसँग सम्बन्धित घटनाक्रमलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यसै गरी प्रधानमन्त्री ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको बिहीबार नै निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले दूतावासका राजदूत तथा कर्मचारीहरूसँग त्यहाँको सेवा प्रवाह र अन्य गतिविधिका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल