कल्याणपुर (सप्तरी), असार १४ गते
। सप्तरीमा एक जना युवकको घाँटी रेटेर हत्या गरी फरार रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
डाक्नेश्वरी नगरपालिका–८ घर भएका ३२ वर्षीय राजकुमार खंगको बिहीबार हत्या भएको थियो । राजकुमारको हत्या गरि फरार भएको आरोपमा सोही नगरपालिका–९ की २१ वर्षीया तुलसी देवी सरदारलाई सुनसरीको इनरुवा नगरपालिका– ९ स्थित बबियाबाट प्रहरीले पक्राउ गरेको हो ।
सरदारलाई सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरी सप्तरी ल्याइ शुक्रबार जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
सरदारको साथबाट मृतक राजकुमारले प्रयोग गर्ने गरेको मोबाइल र हत्यामा प्रयोग भएको चक्कु फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।
बिहीबार घाँटी तथा छातीमा धारिलो हतियार प्रयोग गरी राजकुमारको हत्या गरेर फालिएको अवस्थामा डाक्नेश्वरी नगरपालिका ८ र राजगढ गाउँपालिकाको बिच सिमामा पर्ने लवका पोखरी किनारमा शव फेला परेको थियो ।