alliance khabar

शुक्रबार, जेठ ०९, २०८२

खजुरा, जेठ ९ गते ।

कोहलपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण वडाका अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग (हात, खुट्टा र क्यालिफरलगायतका सहायक सामग्री) जोड्नका लागि भारत लगेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखाले नगरका सबै वडाबाट छनोट गरेर कृत्रिम अङ्ग हाल्नुपर्ने शारीरिक अपाङ्गता भएका नागरिकलाई बुधबार भारत लगेर गएको हो ।

महिला विकास निरीक्षक तथा अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग जोड्ने कार्यक्रमकी संयोजक तारा भण्डारीले बुधबार चार जना कर्मचारी तथा समन्वयकर्ता र १९ जना अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग जोड्नका लागि भारतको जयपुर लगेको बताउनुभयो ।

उहाँले हात र खुट्टामा कृत्रिम अङ्ग हालिने र हिँड्न नमिल्ने कमजोर खुट्टालाई सहायता दिएर हिँड्न मिल्ने गराउनका लागि क्यालिफर हालिने गरेको बताउनुभयो । उहाँका अनुसार यस पटक कृत्रिम खुट्टा पाँच जना, कृत्रिम हात चार जना, क्यालिफर सात जना, ह्विलचेयर एक जना र एएओ (पैताला नभएकालाई जुत्ता जस्तो अङ्ग) दुई जना गरी १९ जना शारीरिक अपाङ्गता भएका नागरिकलाई भारत लगिएको बताउनुभयो ।

कोहलपुर नगरपालिकाका उपप्रमुख एवं स्थानीय अपाङ्गता समन्वय समिति संयोजक सङ्गीता सुवेदीले विगत तीन वर्षदेखि नगरपालिकाले नगरभित्रका सबै वडामा शारीरिक अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न शिविर सञ्चालन गरेर व्यक्ति छनोट गर्दै आएको जानकारी दिनुभयो ।

उपप्रमुख सुवेदीले भन्नुभयो, “सबैभन्दा पहिलो वर्ष १९–२० जना र गत वर्ष १८ जनालाई भारत लगेर कृत्रिम अङ्ग जोडिदियौँ र यस वर्ष १९ जना व्यक्तिलाई पठाएका छौँ ।”

उहाँले कोहलपुर नगरपालिकाले तीन वर्षअघिदेखि यो कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो । उहाँले दीर्घकालीन रूपमा टिकाउ हुने भएका कारण पछिल्लो समय कृत्रिम अङ्गको माग बढिरहेको बताउनुभयो । उहाँले कोहलपुरको सिको गर्दै अहिले बाँकेका अन्य पालिकाले पनि अपाङ्गता भएका व्यक्तिको पहिचान गरी भारत लगेर कृत्रिम अङ्ग हाल्ने काम गर्दै आएको पनि जानकारी दिनुभयो । नगरपालिकाकै खर्चमा उहाँहरूलाई भारत लैजाने, बसाल्ने, खुवाउनेलगायतका आवश्यक सहायक सामग्री प्रदान गरिँदै आएको बताउनुभयो ।

उहाँले अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिकलाई राज्यले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरेको र ‘ग’ र ‘घ’ वर्गका अपाङ्ग नागरिकलाई सामाजिक सुरक्षा प्रदान नगर्ने भएका कारण ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका नागरिक आफ्नो छनोटमा पर्ने गरेको बताउनुभयो ।

उहाँले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका नागरिकका लागि सहायक सामग्री प्रदान गर्ने मात्रै नभएर नगरपालिकाले आत्मनिर्भर तथा स्वरोजगार बनाउनका लागि बेकरी बनाउने तालिमदेखि विभिन्न आयमूलक तथा सिपमूलक तालिम प्रदान गर्दै आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल