महोत्तरी, जेठ ७ गते ।
बर्दिवास–२ हङकङडाँडामा ‘हाम्रो माया घर’ निर्माणले गति लिएको छ । भवन तयार हुनासाथ आश्रय पाइने अशक्त, बेसहाराले आस सँगालेका छन् । नौ महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गरेसँगै निर्माण थालिएको ‘हाम्रो माया घर’को ५० प्रतिशत काम सम्पन्न भएको छ ।
हाम्रो मायाघर निर्माण समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार यहाँ रु १० करोड ६९ लाखको लागतमा दुईवटा भवन निर्माणको काम अघि बढेको छ । उहाँले भन्नुभयो, “दुई वर्षभित्र भवन निर्माण गर्ने लक्ष छ ।”
पहिलो भवन निर्माणको काम गत वर्ष साउनमा आयोजित शिवपुराण महायज्ञबाट प्राप्त रकमबाट थालिएको हो । रु दुई करोड रकम सो महायज्ञबाट सञ्चित भएको थियो । त्यसयता निर्माण कार्यमा विभिन्न दाताबाट जुटेको सहयोगबाट काम निरन्तर अघि बढेको अध्यक्ष भट्टराई बताउनुहुन्छ ।
केही दिनअघि बर्दिवास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले रु २५ लाख सहयोगको घोषणा गर्नुभयो । यस्तै ॐ समाज डेण्टल अस्पताल, बर्दिवासका सञ्चालक डा सुवास घिमिरेले रु सात लाख ५० हजार उपलब्ध गराउनुभएको छ । पहिलो भवन निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएर अर्को भवन निर्माण थालिने अध्यक्ष भट्टराईले बताउनुभयो ।
असहाय बालबालिका, सडक मानव, अशक्त र बेसहाराका लागि ‘हाम्रो माया घर’ आश्रय हुने हाम्रो मायाघर बर्दिवास समितिका अध्यक्ष कृष्णप्रसाद गौतम बताउनुहुन्छ । ‘हाम्रो माया घर’ निर्माण गर्न पाँच कठ्ठा १० धुर जग्गा निःशुल्क प्राप्त भएको छ । दाताहरु भेटिएपछि अर्को भवन निर्माण कार्य अघि बढ्ने उहाँको भनाइ छ ।
यहाँ निर्मित ‘हाम्रो माया घर’ मा मधेसका जुनसुकै ठाउँमा भेटिने सडक मानव, असहाय बालबालिका, अशक्त, बेसहारा एवं परिवारबाट हेपिएका, त्यागिएका वृद्धवृद्धालाई खानपान, बास, उपचार र लत्ताकपडासहित बन्दोबस्त गरेर राखिने हाम्रो मायाघर बर्दिवास समितिका अध्यक्ष गौतम बताउनुहुन्छ । ‘हाम्रो माया घर’ मा दुई सय जना बेसहारालाई मानवोचित व्यवस्थापनसहितको आश्रय दिने लक्ष्य छ । दुबै भवन बालबालिका र अपाङ्गमैत्री हुनेछन् । खेलकुद, मनोरञ्जन र विद्यालय शिक्षासँग यहाँ ल्याइने बालबालिकालाई तत्काल जोडिने छ