बनेपा, वैशाख २१ गते ।
साहित्यकार राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ । पाणिनि बुक्स प्रालिद्वारा शनिबार धुलिखेलमा आयोजित करुणाको आत्मकथाको विमर्शमा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जूले पुस्तकमा सबै विषयमा करुणा झल्किएको बताउनुभयो । शाक्यको आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करुणाले तिम्रो छातीमा दया, माया, करुणा सबै छ, त्यसलाई नजिकबाट अनूभूत गर भनेर झकझकाउने काम गरेको बताउनुभयो । उहाँले ‘करुणा’ ले मानिसभित्रको इमानदारिता, करुणा, माया, दयाको झल्को दिनुका साथै सत्यको पथमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो । “घर, परिवार, पार्टी, समाजका व्यक्तित्वसँगको सम्बन्ध सुमधुर बनाउन, सम्बन्धलाई दरिलो बनाउनका लागि आफूले पनि सम्बन्ध निर्वाह गर्नु पर्छ भन्ने दरिलो उदाहरण पुस्तकमा प्रस्तुत गरिएको छ,” अधिकारीले भन्नुभयो । उहाँले पुस्तकमा जन्म दिने आमा, बुवा, जीवनमा पिता र पतिको महत्व, पुस्तकले युवापुस्तालाई पठन संस्कृतिमा आकर्षण गर्नुपर्ने, युवालाई देशको माटोप्रतिको प्रेमलाई अनूभूति गरिएको बताउनुभयो ।
नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले ‘करुणा’ को सुरुदेखि अन्तिमसम्म सबैमा करुणा झल्किने बताउनुभयो । पुस्तकमा हाल प्रधानमन्त्री केपी शर्मा ओलीले सानै उमेरमा आमा गुमाएपछि मातृवात्सल्य टुटेकोले उहाँसँग करुणा जागेर अन्तर्जातीय विवाह गरेकोसमेत उल्लेख गरिएको बताउनुभयो । उहाँले आत्मकथामा दुःख र सङ्घर्षको चित्रण गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी प्रथम महिला राधिका शाक्यले आफूले जीवनमा पञ्चायती, बहुदलीय, गणतन्त्र सबै व्यवस्था देखेको र आफूले देखेको र महसुस गरेको देशको अवस्थालाई युवा र आगामी पुस्तालाई जानकारी दिने उद्देश्यले आत्मकथा लेखेको बताउनुभयो । उहाँले “श्रीमान् केपी शर्मा ओलीले सधैँ तिमी घरको काममा मात्रै व्यस्त नहोऊ, तिमी क्षमता भएको मान्छे केही लेख्न सक्ने मान्छे” भनेर प्रेरणा दिएका कारणले आत्मकथा लेख्न प्रेरित भएको बताउनुभयो । आमाबुबा, दाजुभाइ, दिदीबहिनी, श्रीमान्को प्रेरणाले नै यो स्थानसम्म आउन सफल भएको बताउनुभयो । उहाँले आफूले दुई वटा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र आफ्नो श्रीमान्लाई लक्षित गर्दै अनपढ भनेर गरिएको चित्रणप्रति चित्त दुख्ने बताउनुभयो ।