लेखनाथ, वैशाख ८ गते ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ ।
प्रदेशमा योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सुरु गरिएको आयोजना बैंक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार सुरुआत गर्नुभयो ।
आयोगको वेबसाइट gandaki.ppbmis.gov.np मा प्रदेश सरकारका आयोजनाहरु प्रविष्ट गरिनेछ । आयोजना बैंकमा प्रदेश सरकार मातहतका मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यन्वयन गर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
सोमबार भएको प्रदेश र स्थानीय तहवीच योजना साझेदारी विषयक छलफलमा मुख्यमन्त्री पाण्डेले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आगामी वर्ष सञ्चालन गर्न सकिने कार्यक्रमहरुबारे जानकारी लिनुभयो । “कृषि र पर्यटन केन्द्रित कार्यक्रममा साझेदारी गरी ग्रामीण अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना गर्न र युवा पलाएन रोक्ने योजना बैंक सहयागी हुने अपेक्षा गरेका छौँ,’ उहाँले भन्नुभयो ।
उहाँले लागत साझेदारीमा हुने कार्यक्रम प्रतिफल देखिने खालका बनाउन उहाँको अनुरोध छ । आगामी नीति, कार्यक्रम, बजेटको तयारी भइरहेका बेला आयोजित छलफलले स्थानीय तहहरुलाई योजना र बजेट बिनियोजन गर्न थप सहज हुने जनप्रतिनिधिहरुले प्रतिक्रिया दिनुभयो ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले आयोजना बैंक सञ्चालन भएपछि प्रदेशका योजनाहरु व्यवस्थित हुने उल्लेख गर्नुभयो । उहाँले प्रदेशको दोस्रो पञ्च वर्षीय योजनाका लक्ष्य र कार्यक्रमसँग तादात्य हुने गरी आगामी वर्षका नीति तथा कार्यक्रम र बजेट आउनेसमेत उल्लेख गर्नुभयो ।