alliance khabar

बिहिबार, माघ २४, २०८१

काठमाडौँ, माघ २४ गते ।

सिंहदरबार वैद्यखाना विकास समितिले जडीबुटी खरिद गर्नका लागि बोलपत्र आह्वान गर्छ । प्रायः एउटा मात्रै कम्पनीको बोलपत्र निवेदन पर्छ । अनि ठेक्का पाउने कम्पनीले २५ प्रतिशत जति जडीबुटी ल्याउँछ । समय सकिन्छ ।

सिंहदरबार वैद्यखानाको एकपछि अर्को ठेक्का हात पार्ने ‘न्यु लक्ष्मी सप्लायर्स’ को लापरबाहीले आयुर्वेदिक औषधीको उत्पादन ठप्प छ । निजी क्षेत्रबाट सञ्चालित आयुर्वेद औषधी उद्योग र भारतबाट वार्षिक करोडौँको औषधी आयात भइरहँदा ठेकेदार कम्पनीले सिंहदरबार वैद्यखानालाई ठेक्काको २५ प्रतिशतसम्म मात्रै जडीबुटी दिन्छ तर २०५७ देखि सोही कम्पनीले ठेक्का पाउँछ ।

सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीका अनुसार जेठमा ठेक्का लगाइए पनि मङ्सिर दोस्रो सातासम्ममा जम्मा २५ प्रतिशत जडीबुटी पनि ठेकेदार कम्पनीले उपलब्ध गराएन । उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालय गएरै सप्लायर्स कम्पनीका सञ्चालकसँग छलफल भयो । मन्त्रीकै अगाडि दिन्छु, दिन्छु भने पनि सामान आएन । त्यसपछि हामीले ठेक्का खारेजी प्रक्रिया अघि बढाउन बाध्य भयौँ ।”‘न्यु लक्ष्मी सप्लायर्स’ का सञ्चालक मनश्याम विष्टले सिंहदरबार वैद्यखानाका कर्मचारीले सामान नबुझेर जडीबुटी आएन भनेको दाबी गर्नुभयो । उहाँका अनुसार जेठमा ९० लाख रुपियाँको बोलपत्र आह्वान भएको थियो ।

उहाँले भन्नुभयो, “वैद्यखानाले उपलब्ध गराएको भण्डारमै छ सामान तर वैद्यखानाले सामान बुझेको छैन । ९० लाख रुपियाँको ठेक्कामा ७५ लाख रुपियाँको कार्यादेश कम्पनीले पाएको हो । वैद्यखानाले २०/२२ लाख रुपियाँ भुक्तानी पनि गरिसकेको छ । भुक्तानी हुन बाँकी १० लाख रुपियाँ जति छ । १०/१२ लाख रुपियाँको सामान गोदाममै छ ।” सञ्चालक विष्टले मागे जति जडीबुटी दिन तयार रहेको बताए पनि उहाँकै हिसाबमा पनि भुक्तानी भएको, भुक्तानी लिन बाँकी र गोदाममा भएको गरी ४० लाख रुपियाँको मात्रै औषधी आएको देखिन्छ । उहाँले कात्तिक २७ गतेसम्म सामान बुझेको, मङ्सिर ७ गतेसम्म बिल पनि लिएको भए पनि मङ्सिर १३ गते सम्झौता खारेज गर्ने गरी छलफल अघि बढाएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “ठेक्काको समय सकिन ५५ दिन बाँकी रहँदा बैङ्क ग्यारेन्टी जफतको पत्र आयो । सामान नबुझेर बैङ्क ग्यारेन्टी जफत गराउनेतर्फ लाग्नुभयो । हामीले सामान दिने भन्दाभन्दै यसो गरेपछि मुद्दा हालेका छौँ ।”

सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले एउटा औषधी बनाउन १५ थरी जडीबुटी आवश्यक पर्ने भएमा न्यु लक्ष्मी सप्लायर्सले छदेखि १० वटासम्म जडीबुटी मात्रै ल्याउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आधा, अधुरो जडीबुटी लिएर आएर बुझ्न भन्छन् । अनि कसरी बुझ्ने ?”

कार्यकारी निर्देशक डा. केसीका अनुसार पुस २३ गते पुनः बोलपत्र आह्वान गरिएकोमा फेरि ‘न्यु लक्ष्मी सप्लायर्स’ को मात्रै निवेदन परेको छ । उहाँले भन्नुभयो, “बुधबार टेन्डर खुला भयो । एउटै मात्र सप्लायर्सले निवेदन दिएको छ । निवेदनको विषयवस्तु अध्ययनपछि निर्णय हुन्छ ।”

सप्लायर्स कम्पनीका सञ्चालक विष्टले २०५७ देखि सिंहदरबार वैद्यखानालाई जडीबुटी दिइरहेको बताउँदै यस पटक पनि आफ्नो मात्रै निवेदन परेको जानकारी दिनुभयो । आयुर्वेदिक औषधीको अध्ययन, अनुसन्धान र उत्पादनको उद्देश्यले २०५१ मा स्थापित सिंहदरबार वैद्यखाना विकास समितिमा सीमित मात्रमा च्यवनप्रास उत्पादन भए पनि अरू आयुर्वेदिक औषधी उत्पादन ठप्प छ ।

सुधार प्राथमिकतामा : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैद्यखानालाई सुधार गर्ने कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले वैद्यखानाको सुधार गर्नु भनेर आवश्यक साधनस्रोत जुटाउनेदेखि सबै सहयोग गर्छौं भनेर वैद्यखानाको नेतृत्वलाई आवश्यक निर्देशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिंहदरबार वैद्यखानामा जे भएको छ, त्यसको जिम्मेबारी त्यहीँको नेतृत्वले लिने हो तर हामीले सुधार गर्न समय दिएका छौँ । उपलब्धि हासिल भएको छैन । सुधार गर्नका लागि प्राथमिकतामा राखेका छौँ ।”

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल