काठमाडौं ,माघ ८ गते।
शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा ‘शंखरापुर सक्व महोत्सव २०८१’ आयोजना हुने भएको छ । शंखरापुर नगरका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठका अनुसार आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्राचीन सम्पदा बस्तीमा शंखरापुर सक्व महोत्सव २०८१ हुनेछ ।
उहाँका अनुसार, महोत्सवको मूल उद्देश्य सक्वको प्राचीन बस्ती र सम्पदाबारे जानकारी गराउनु तथा शंखरापुर नगरभित्र रहेका विभिन्न समुदायको संस्कृतिबारे प्रचार प्रसार गर्नुका साथै साँखुबारे प्रचार प्रसार गर्नु पनि रहेको छ । साँखु आजभन्दा तीन हजार वर्षभन्दा अगाडि स्थापित नगर हो ।
‘यस नगरमा रहेको शालिनदीमा हरेक वर्ष मेला लाग्दछ तर धेरैलाई प्राचीन नगर साँखुबारे जानकारी नरहेको बुझिएको हुँदा यसबारे जानकारी गराउनुका साथै शंखरापुर नगरको कृषि, पर्यटन तथा सम्पदा संस्कृतिबारे जानकारी गराउने हेतुले यो महोत्सव गर्न लागिएको हो,’–प्रवक्ता श्रेष्ठले स्पष्ट पार्दै भन्नुभयो , ‘शंखरापुर यस्तो नगर हो– जुन काठमाडौंका अन्य नगरभन्दा अलि पृथक् छ ।’
उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तथा नौवटै वडाअध्यक्ष सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ– जसको उपसंयोजकमा उपप्रमुख समिता श्रेष्ठ, सदस्यसचिवमा प्रमुख प्रशासकीय अधिकृत अमृत धिताल रहेका छन् । महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रवद्र्धन तथा स्थानीय व्यापारीको संरक्षण गर्नुका साथै प्रोत्साहन गर्ने रहेको छ ।
महोत्सवमा शंखरापुरका नौवटै वडामा रहेका धार्मिक र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने, झाँकीसहित नगर परिक्रमा गर्ने, कृषि, व्यापार, हस्तकलाको प्रवद्र्धन गर्ने, नेवारी खाजा, कासा खेल, परम्परागत गरगहना, भेषभूषाको प्रदर्शन विभिन्न समुदायको जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारको प्रचार, चित्रकला प्रदर्शनी, हराएका मूर्तिको जानकारी गराउने तथा परम्परागत जात्राको प्रदर्शनी गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
शंखरापुर नगरका मेयर तथा महोत्सव संयोजक रमेश नापितले सबै जनसमुदायमा महोत्सवमा सहभागी भई मनोरञ्जनका साथै यस नगरका विविध पक्षका जानकारी हासिल गर्नका लागि आह्वान गर्नुभयो।