alliance khabar

बुधबार, पुष ०३, २०८१

काठमाडौं, पुस ३ गते : चिसो बढ्दै जाँदा विभिन्न सर्ने तथा नसर्ने रोगले दुःख दिने गर्छ । जाडोमा बढ्ने प्रमुख स्वास्थ्य समस्यामध्ये मुटुरोग पनि एक हो । अन्य मौसमको तुलनामा जाडोमा मुटुको समस्याले बढी दुःख दिने चिकित्सक बताउँछन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ट मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई जाडोमा मुटुरोगको समस्याले अन्य बेलाको तुलनामा बढी दुःख दिने बताउनुहुन्छ ।

जाडोमा रक्तनली खुम्चिएर उच्चरक्तचाप बढ्नुका साथै रगत जम्मी मस्तिष्कमा रक्तप्रवाह बन्द भई स्ट्रोक हुने, रगत बाक्लो भएर रक्तनली बन्द भएर हृदयघात हुने जोखिम बढ्ने डा.भट्टराई बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “चिसोमा रक्तनली खुम्चिने हुँदा मुटुलाई रक्त प्रवाह गर्न अन्य बेलाको तुलनामा बढी मेहनत गर्नुपर्ने भएकाले यो बेला उच्चरक्तचाप बढ्नुका साथै स्ट्रोक हुने, हृदयघात हुने सम्भावना बढ्छ ।”

औषधी खाइरहेका बिरामी, मुटुरोगी, उच्चरक्तचापका बिरामी, शल्यक्रिया गरेका बिरामी बढी जोखिममा हुने उहाँको तर्क छ । मुटुको भल्बको शल्यक्रिया, मुटुको शल्यक्रिया गरेका बिरामी हुँदा चिसोमा जाँदा शल्यक्रिया गरेको ठाउँको हड्डी दुख्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “चिसोमा बाहिर ननिस्किएको राम्रो हो । मुटुरोग बाहेक अन्य रोग लाग्न सक्छ । कठ्याङ्ग्रिने, रुघाखोकी लाग्ने, विभिन्न फ्लुको सङ्क्रमण हुने जोखिम बढ्छ ।”

उहाँका अनुसार मुटुमा समस्या आएमा छाती दुख्ने, छाती भारी हुने जस्ता लक्षण देखिने गर्छन् ।

चिसोमा दीर्घरोगीलाई मर्निङवाक नगर्न डा. भट्टराईको सुझाव छ । जाडोमा मुटुको समस्या बल्झिन नदिन उच्चरक्तचाप, मधुमेह, मिर्गौला रोगी, ४० कटेका बिरामीले विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

मुटु कमजोर भएकालाई चिसो लाग्ने, रुघाखोकी लाग्ने, विभिन्न सङ्क्रामक रोगले मुटुमा सङ्क्रमण गरी झन् मुटु कमजोर हुने गर्छ । मुटुको भल्ब टालेका, मुटुको प्वाल टालेका बिरामीमा किटाणु भल्बमा टाँसियो भने झन् जटिल स्वास्थ्य समस्या निम्तिन सक्ने उहाँको भनाइ छ ।

जाडोमा मुटुका लक्षण जस्तै छाती दुख्ने, छाती भारी हुने जस्ता लक्षण देखिएर तुरुन्त चिकित्सकसँग परामर्श लिन उहाँले अनुरोध गर्नुभयो । जाडोमा शारीरिक कसरत कम हुने हुँदा कोलेस्टोरल, सुगर लगायतका रोग बढ्ने हुँदा कार्बोहाइडेड युक्त खानेकुरा कम खान उहाँको सुझाव छ । त्यसैगरी तारेको, भुटेको खानेकुरा, छाला र बोसो भएको मासु नखान उहाँको आग्रह छ ।

जाडोमा मुटु स्वस्थ राख्न झोलिलो खानेकुरा, तरकारी, फलफूल प्रशस्त मात्रामा खाने र घाम लागिसकेपछि ३० मिनेट पसिना आउने गरी कसरत गर्न उहाँको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, “जाडोमा मुटुरोग हुन नदिन न्यानो भएर बस्ने, तातो कपडा लगाउने,रक्तचाप नियमित जाँच गर्ने, तातो झोलिलो खानेकुरा खाने, धूमपानरमादक पदार्थ नगर्ने र शारीरिक कसरत गर्नुपर्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल