alliance khabar

शनिबार, कार्तिक २४, २०८१

काठमाडौँ, कात्तिक २४ गते ।

 मर्मत तथा स्तरोन्नतिका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदा केही विदेशी विमान सेवाले भाडा बढाउने पहल गरेका छन् । विमानस्थल बन्द हुने जानकारी पहिले नै गराएका कारण त्यसो गर्न उचित नहुने बताइएको छ ।

विमानस्थल बन्द भएका कारण उत्पन्न समस्याबारे परराष्ट्र, श्रम र नागरिक उड्डयन तीन मन्त्रीसहितको छलफलमा त्यस्तो बताइएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गर्नुभएको हो ।

विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घण्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौँ उडानमा कटौती गरेका छन् । यही कारण देखाएर वायुसेवा कम्पनीले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा श्रममन्त्री शरत्सिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा. राणाले उहाँहरूलाई विकसित पछिल्लो परिस्थिति अध्ययन गरी आवश्यक निकासका लागि सो आग्रह गर्नुभएको हो ।

बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिले उक्त समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री डा. राणालाई ज्ञापनपत्र दिनुभएको थियो । उहाँहरूले विमानस्थलले उडान समयमा गरेको कटौतीका कारण देखाएर हवाई कम्पनीले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेको र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेको जानकारी गराउनुभएको थियो ।

बैठकमा मन्त्री डा. राणाले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने नेपालीलाई महँगो टिकटका कारण समस्या परेको त छँदै छ, यो मारमा अरू पनि परेकाले धेरै गुनासो आएको छ । हवाई कम्पनीले एकाधिकार गरेका छन् भने उनीहरूलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनु पर्छ ।”

नेपालबाट टिकट नपाउने तथा धेरै नै महँगो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्वअध्यक्ष विमल गौतम एवं प्रनिनिधि प्रज्ञान न्यौपानेलगायतले मन्त्री डा. राणासँग आग्रह गर्नुभएको थियो ।

मन्त्री राणाले त्यस्तो अवस्था आएमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिनुभएको थियो । उहाँले विमानस्थल मर्मत गरिने सूचना नेपालले छ महिनाअघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीले अस्वाभाविक रूपमा भाडा वृद्धि गर्न नहुने बताउनुभयो ।

मन्त्री भण्डारीले श्रमिकलाई अहिले मर्का पर्नु त छँदै छ, यो समस्या राष्ट्रिय समस्या पनि भएकाले समाधानका उपायको खोजी गरिने जानकारी दिनुभयो । अर्का मन्त्री पाण्डेले विमानस्थल मर्मतको कामको सूचना पहिल्यैदेखि दिइएकाले अहिले हवाई कम्पनीले आफूखुसी मूल्यवृद्धि गर्न नपाउने जिकिर गर्दै समस्याको समाधानका विकल्पबारे छलफल गरिरहेको बताउनुभयो ।

उहाँले विमानस्थल मर्मत पनि गर्नैपर्ने काम भएकाले यसलाई निरन्तरता दिँदै यसबाट उत्पन्न असहज परस्थितिको समाधानका लागि विकल्प खोजिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल