Alliancekhabar

शनिबार, आश्विन १९, २०८१

घोडाघोडी (कैलाली), असोज १९ गते : कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो । १५ दिनसम्म अस्पताल भर्ना भएकी पूजाको रगत जाँच गर्दा रगतमा खराबी देखिएपछि उहाँलाई भरतपुर क्यान्सर अस्पताल लगियो । साउनमा पूजालाई ब्लड क्यान्सर प्रमाणित भएपछि अहिले उहाँको भर्ना गरेर भरतपुर अस्पतालमा उपचार भइरहेको छ । कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालय पहलमानपुरमा कक्षा १० मा अध्ययनरत पूजा पढाइका साथसाथै भलिबल खेलाडी पनि हुनुहुन्छ ।

नगरस्तरीय तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड स्वर्ण पदक विजेता पूजाको उपचारमा दैनिक १५ देखि २० हजार रुपियाँ खर्च आउने परिवारले जनाएको छ । पूजाका दाजु प्रकाशबहादुर सिंहले भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्ने आफ्नो परिवारमा बहिनीलाई क्यान्सर देखिएपछि उपचारमा आर्थिक अभाव भएको बताउनुभयो । उहाँले बाहिरबाट उठेको सहयोग रकमले उपचार गराइरहेको बाध्यता सुनाउँदै थप उपचारका लागि रकम कसरी जुटाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

त्यसै गरी घोडाघोडी नगरपालिका–५ का २६ वर्षीय हिमबहादुर बोहोराको दुवै मिर्गौला फेल भएको पाँच वर्षपछि मिर्गौला प्रत्यारोपण भएको पनि पाँच वर्ष भएको छ । आमाको एउटा मिर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएका बोहोराले काठमाडौँमै बसेर नियमित परीक्षण तथा औषधी सेवन गरिरहनुभएको छ ।

१२ वर्षको हुँदा दुवै मिर्गौलामा पत्थरी भएको र अपरेसन गरेर पत्थरी निकाले पनि नियमित मिर्गौलाको जाँच नहुँदा कक्षा १२ मा पढ्दा दुवै मिर्गौला फेल भएको बोहोरा बताउनुहुन्छ । सामान्य किसान परिवारका बोहोराको हालसम्मको उपचारमा पचास लाखभन्दा बढी रुपियाँ सकिएको छ । दुई वर्ष भयो उहाँले नगरपालिकाबाट पाउने मासिक पाँच हजार रुपियाँ उपचार खर्च पाउँदै आउनुभएको छ ।

बोहोरा भन्नुहुन्छ, “सरकारले दिने मासिक पाँच हजारले मलाई धेरै सहायता पुगेको छ । नियमित परीक्षण र औषधी सेवनमा पाँच हजार खर्च गर्ने गरेको छु ।” बोहोरा र सिंह जस्तै घोडाघोडी नगरपालिकामा ८० जना क्यान्सर तथा मिर्गौला पीडित रहेको तथ्याङ्क नगरपालिकासँग छ ।

स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले आर्थिक वर्ष २०८०/८१ मा सरकारबाट प्रदान गर्ने मासिक पाँच हजार रुपियाँ उपचार खर्च पाउने ७१ जना क्यान्सर तथा मिर्गौलापीडित रहेको बताउनुभयो । साउनदेखि यताको भुक्तानी भएको छैन । मिर्गौला प्रत्यारोपण गरेका डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधी उपचार खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ बमोजिम नेपाल सरकारले प्रत्येक पालिकामार्फत मासिक पाँच हजार रकम उपचारका लागि सम्बन्धित व्यक्तिलाई दिने व्यवस्था गरेको छ । सोही अनुरूप घोडाघोडी नगरपालिकामा २०७९ सालबाट यो सुविधा दिन थालिएको हो ।

घोडाघोडी नगरपालिकामा २०८०/८१ मा सुविधा लिनेमध्ये १२ जना मिर्गौलापीडित रहेका छन् भने ५९ जना क्यान्सर रोगी रहेका छन् । त्यसै गरी आव २०७९/८० मा ५८ जना बिरामीले सो सुविधा लिएका थिए । स्वास्थ्य शाखा प्रमुख रावतले क्यान्सर र मिर्गौला रोगी प्रत्येक वर्ष बढ्दै गएको जनाउँदै साउनयता १० जना अझै थप भएको जानकारी दिनुभयो । प्रत्येक तीन महिनामा भुक्तानी दिने व्यवस्था भएकाले पछिल्लो समय थपिएकाको भुक्तानीपछि तथ्याङ्क अद्यावधिक हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल