काठमाडौँ, भदौ २९ गते ।
नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला समितिको प्रथम जिल्ला परिषद कीर्तिपुरमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय राजन केसी, विशिष्ट अतिथिहरूमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा श्रम सम्बन्ध विभाग प्रमुख हरिशरण नेपाली, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, नेपाली काङ्ग्रेस श्रमसम्बन्ध विभागका सदस्य डीपी अर्याल लगायत अतिथिहरूमा ट्रेड युनियन कांग्रेसका केन्द्रीय पदाधिकारीहरू ,केन्द्रीय सदस्यहरू , ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका अध्यक्ष ,आबद्ध संघका अध्यक्ष तथा पदाधिकारीहरू , ट्रेड युनियन कांग्रेसका सम्पूर्ण संरचनाहरूको नेतृत्वकाे उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला अध्यक्ष देवीप्रसाद भुसालले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्लाका सचिव प्रकाश मगरले गर्नुभयो। यस बैठकमा विभिन्न क्षेत्रका ट्रेड युनियनका नेताहरू, र अन्य श्रम सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमकमा प्रमुख अतिथि राजन केसीले समसामयिक राजनीतिक अवस्था र ट्रेड युनियन आन्दोलनको महत्त्वपूर्ण उपलब्धिहरूका बारेमा मन्तव्य राख्नुभयो। उहाँले भन्नुभयो, “नेपालको श्रम आन्दोलनले श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्दै राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याएको छ। आगामी दिनमा पनि युनियनहरूले श्रमिकहरूको आवाज बुलन्द पार्दै, सामाजिक न्यायका लागि अझै प्रभावकारी ढंगले काम गर्न आवश्यक छ।”
विशिष्ट अतिथि हरिशरण नेपालीले ट्रेड युनियन आन्दोलनका चुनौतीहरू लगायत समसामयिक विषयमा बोल्नुभयो । उहाँले भन्नुभयो , “नेपालको श्रम आन्दोलनमा चुनौतीहरू प्रशस्तै छन्, जसमध्ये श्रमिकहरूको जीवनस्तर सुधार, न्यूनतम पारिश्रमिकको उचित व्यवस्था, र श्रमिक अधिकारको संस्थागत विकास मुख्य हुन्। तर हामीले विगतका उपलब्धिहरूलाई सुदृढ गर्दै ती चुनौतीहरूलाई अवसरमा परिणत गर्न सक्छौं।”
कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूले पनि आ-आफ्ना धारणा राख्दै ट्रेड युनियन आन्दोलनको सुदृढीकरण र श्रमिकहरूको जीवनस्तर सुधारका लागि अझ प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो। नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले ट्रेड युनियन आन्दोलनले हासिल गरेका सफलताहरूको चर्चा गर्दै आगामी दिनमा पनि ट्रेड युनियनको भूमिका अझै सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।
नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले श्रम आन्दोलनको आगामी दिशा र चुनौतीहरूको चर्चा गर्दै भन्नुभयो, “हामीले श्रमिकहरूको हितमा काम गरेका छौं, तर अझै धेरै गर्न बाँकी छ। श्रम क्षेत्रका चुनौतीहरू पनि जटिल हुँदै गइरहेका छन्। यसलाई सम्बोधन गर्न हामी सबैको एकताबद्ध प्रयास आवश्यक छ।”
परिषदमा काठमाडौँ जिल्ला समितिको संगठनात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। यी प्रतिवेदनहरू पेश गरिएपछि, उपस्थित पार्षदहरूबीचमा छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो। प्रतिवेदनमा काठमाडौँ जिल्लामा भएका संगठनका गतिविधिहरू, चुनौतीहरू, र आगामी योजनाहरूको स्पष्ट समीक्षा गरिएको थियो। आर्थिक प्रतिवेदनमा संगठनका आय-व्ययका विभिन्न पक्षहरूलाई समेटेको थियो।
कार्यक्रमको समापनमा अध्यक्ष देवीप्रसाद भुसालले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले उपस्थित सबै प्रतिनिधिहरूलाई आगामी दिनमा संगठनलाई थप सशक्त बनाउन एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभयो ।