alliance khabar

बिहिबार, माघ ११, २०८०

चितवन, ११ माघ : भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रुपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो ।

विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन् । केही वर्षभित्रमै साना जहाज पुराना भएसँगै यहाँ सञ्चालन हुने जहाज नपाउने र अहिलेको उडान जोखिम भएपछि विमानस्थल विस्तार गर्न लागिएको हो ।

सरोकारवाला निकायका सबै सकारात्मक देखिएसँगै विस्तारको काम अघि बढ्ने भएको हो । भरतपुर महानगरपालिकाले विस्तारको पहल गर्दै आएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्ने सहमति भइसकेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभएको जनाइएको छ । अहिलेको यो विमानस्थल निकै जोखिमपूर्ण मानिन्छ । यो तराईको लुक्ला भनेर पनि परिचित गरिन्छ । प्रमुख दाहालका अनुसार विमानस्थल विस्तार गरेर धावनमार्ग एक हजार पाँच सय मिटर बनाइँदै छ । अहिले एक हजार दुई सय मिटर मात्रै लामो छ । यससँगै ७२ सिट क्षमताका ठूला जहाज रात्रिकालीनसमेत उडान गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

गत शनिबार भरतपुरको श्री नयाँ सबुज गणमा भएको कार्यक्रममा रक्षामन्त्री पूर्णबहादुर खड्काले ब्यारेकमा रहेको ७० बिघा आठ कट्ठा चार धुर जग्गामध्ये १९ बिघा चार कट्ठा चार धुर विमानस्थल विस्तारका लागि दिनुपर्ने देखिएको जानकारी दिनुभएको थियो । यससँगै यहाँको केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उहाँले बताउनुभएको थियो । सोही अवसरमा रक्षामन्त्री खड्काले स्थलगत निरीक्षण गरी प्रजनन केन्द्र सार्ने विषयमा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको थियो ।

केन्द्रमा साना ठूला गरी हाल ११० घोडा छन् । विसं २०४१ बाट केन्द्र सञ्चालनमा छ । यहाँ जन्मिएका घोडाका बच्चालाई सामान्य तालिम दिएर थप तालिमका लागि काठमाडौँ पठाउने गरिन्छ । प्रजनन केन्द्र स्थानान्तरण गरिएपनि सेनाको गण भने यही रहने जनाइएको छ ।

धावनमार्ग र सडकका लागि थप जग्गा दिने तयारी गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जग्गाको सुनिश्चितता भएसँगै धावनमार्ग विस्तारको काम अघि बढ्ने जानकारी दिनुभयो । नयाँ टर्मिनल भवन बन्दै गरेको जनाउँदै उहाँले विस्तारका लागि जग्गाको व्यवस्था भएसँगै धावनमार्ग विस्तारको काम तत्काल अघि बढाउने बताउनुभयो । चालु आर्थिक वर्षमा धावनमार्गका लागि कार्यक्रमसमेत राखिएको उहाँले जानकारी दिनुभयो ।

यो विमानस्थल विसं २०१५ मा निर्माण भएर विसं २०१८ बाट सञ्चालन हुँदै आएको छ । विमानस्थलको हाल कूल क्षेत्रफल ६२ बिघा रहेको छ । यसमा एक हजार २दुई सय मिटरमात्र धावनमार्ग छ । विमानस्थलबाट अहिले काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । छोटो धावनमार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल