alliance khabar

बुधबार, पुष १८, २०८०

कमलामाई (सिन्धुली), १८ पुसः कमलामाई नगरपालिका–१ कोप्चेका नैनबहादुर हायूको परिवारलाई विगतका समयमा पेटभरि खान पुग्दैन थियो । सो परिवारलाई भोक मेटाउन जङ्गलमा कन्दमूल खोजेर खानु पर्दथ्यो ।

“२० वर्षअघिसम्म हामी वनमा गिट्ठा, तरुल खोजेर खाँदैथियौँ । अहिले पहिले जसरी जङ्गलमा कन्दमूल पाइँदैन । जङ्गल विनाशसँगै मासिया”, उहाँले विगत सम्झिँदै भन्नुभयो ।

तत्कालीन सयममा हायु जातिको अवस्था अत्यन्तै नाजुक थियो । आयस्रोत थिएन । पढ्ने अवसर पाएका थिएनन् । सो जातिसँग बाँसजन्य सामग्री बनाउने सीप थियो । उहाँले भन्नुभयो, “गाउँबाट बजार पुग्न दिनै बित्ने गर्दथ्यो । बाटो राम्रो थिएन । सवारी साधनको पहुँच थिएन । दैनिकी कठिनाइका साथका बित्ने गर्दथ्यो । ”

पछिल्लो समय सो जातिको रहनसहन, बानीव्यवहार, खानपान र जीवनशैली बदलिँदो क्रममा छ । सरकारले मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि सामाजिक, शैक्षिक र आर्थिक अवस्थामा सुधार आएको कमलामाइ –१ आधामाराका हायू समुदायका अगुवा युवा गुणबहादुर हायूले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला भोक टार्ने जङ्गली गिट्ठा, तरुललाई हायूले यतिबेला बिर्सिन थालेसकेका छन् । पेटभरि खान पाएका छन् । बालबालिका विद्यालयमा पढ्न पाएका छन् । सडक सुविधा थपिँदै गएको छ । बिजुली बत्ती घरघरमा पुगेको छ । समग्रमा हायू जातिको जीवनशैली व्यवस्थित बन्दै गएको छ ।”

सरकारले अहिले लोपोन्मुख हायूलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । पाँच सय रुपैयाँबाट सुरु भएको भत्ता पछिल्लो समय बढ्दै गएपछि प्रकृतिलाई पूजा गर्ने हायूको जीवनशैली व्यवस्थित बन्दै गएको उहाँको भनाइ छ ।

ज्येष्ठ नागरिक नागरिक पूर्णिमाया हायूले सरकारले दिएको सुविधाका कारण आफूहरुको जीवनस्तर राम्रो बन्दै गएको बताउनुभयो । “मैले कखरा पढ्न पाइन । त्यो बेला केन्द्रमा मात्रै छ स्कुल भन्ने सुनेको थिएँ । हामीले पढ्ने उमेरमा स्कुल देख्न पनि पाएनौँ,” उहाँले भन्नुभयो, “हाम्रो बालबच्चाले पढ्ने बेला घरआँगनमै स्कुल स्थापना भयो । अहिले सबै हायू बालबालिकाले पढ्न पाएका छन् ।”

सिन्धुलीको मदन भण्डारी राजमार्गको पश्चिम खण्डस्थित खारखोलाबाट उकालो एक घण्टा कच्ची सडक सवार गरेपछि जङ्गलभित्र छरिएर रहेको बस्ती भेटिन्छ । कमलामाई–१ को डाँडी गुराँसे कोप्चे क्षेत्रमा एक सय २० घर सो जाति रहेको छ ।

सो क्षेत्र दुर्गम रहेको छ । त्यहाँ अझैे पनि आधुनिक विकासको पूर्वाधार पुगेको छैन । कक्षा ८मा अध्ययनरत प्रमिसा हायूलाई विद्यालय पुग्न दुई घण्टा पैदल हिँड्नु पर्छ । पहिला घरबाट विद्यालयसम्म पुग्न सानो गोरेटो बाटो थियो । अहिले कच्ची नै भए पनि सडक विस्तार भएको छ । घर र सहर गर्न हिउँद महिनामा दैनिक एउटा गाडी चल्छ । आफ्नो गाउँ विकसित हुँदै गएको उनीका ठम्याइ छ ।

लालमाया हायूका अनुसार यस लोपोन्मुख जातिको पुख्र्यौली पेसा मान्द्रो, डोको, डालो, नाग्लो, चाल्नो, भकारी बेच्ने हो । यसलाई व्यवसायी रुपमा प्रवद्र्धन गर्न नसके पनि घरायसी दैनिक कामबाट बचेको समयमा बाँसजन्य सामग्रीहरु बनाएर बेच्ने गर्दछन् । कतिपय हायूले पशुपालन र कृषि कर्म गरेर पनि आम्दानी गर्न थालेका छन् ।

हायू जातिको जीवन उकास्नका लागि सडक सञ्जालदेखि विद्युत् विस्तारसम्मको काम भइरहेको वडाध्यक्ष नरेश गोलेले बताउनुभयो । सबैलाई शिक्षामा जोड्का लागि हायू गाउँमै माध्यमिक तहको विद्यालय सञ्चालनको तयारी भइरहेको उहाँको भनाइ छ ।

कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले लोपोन्मुख हायूको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व भएकाले यसका लागि आफू कटिबद्ध रहेको बताउनुभयो । हायूको पराम्परागत सीप र पहिचान प्रवद्र्धनमा योजना बनाएर काम गर्ने उहाँको भनाइ छ ।

कमलामाई नगरपालिकामा मात्रै एक हजार एक सय हायू जातिले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन् । सो भत्ताले जीवनयापन सहज बन्नाका साथै जीवनशैलीमा परिर्वतन आएको उनीहरुको भनाइ छ । सरकार नै आफूहरुको भरोसा बनेको जनाउँदै सो जातीले खुशी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल