alliance khabar

बिहिबार, मंसिर २८, २०८०

जाजरकोट, २८ मङ्सिर : जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो ।

भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुई/तीन दिनयता पखालाले सताइरहेको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । “गाउँका धेरैलाई पखालाले थला पारेको छ । बालबालिका र वृद्धावृद्ध बढी जोखिममा छन्”, उहाँले भन्नुभयो, “उपचारका लागि खबर गर्दा अहिलेसम्म कोही पनि आएका छैनन् । घर घरमै बिरामी छन् ।”

घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन् । एक सय बढी घरधुरी रहेका ती गाउँमा चिसोले गर्दा पखाला, टाउको दुख्ने, बान्ता आउनेलगायतका समस्या देखिन थालेको स्थानीयले बताएका छन् ।

स्थानीय धर्मशिला विकले आफू दुई दिनदेखि पखालाले थला परेको बताउनुभयो । पटकपटक पातलो दिसा लाग्ने, टाउको दुख्ने, वान्ता हुने, मुटु दुख्ने, चक्कर लाग्नुका साथै श्वासप्रश्वासमा पनि समस्या हुन थालेको उहाँको भनाइ थियो ।

“छ वर्षको छोरालाई पनि पखाला लागेको छ । गाउँमा बिरामी नहुने कोही पनि छैनन् । रुघाखोकी त यो चिसोमा सबैका लागि सामान्य नै भइसकेको छ”, विकले भन्नुभयो, “नजिक स्वास्थ्य संस्था पनि छैनन् । निकै गाह्रो भइरहेको छ ।”

गाउँमा धेरै बिरामी भएको खबर सुनेपछि वडा नं १ को पिपेमा रहेको स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखामा खबर गरे पनि उपचारका लागि गाउँमा कोही नआएको वडा सदस्य नैनबहादुरले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा प्रतिक्षा भारतीले दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडापखाला तथा वान्ताले धेरैलाई बिरामी पारेको खबर आएको बताउनुभयो । “अलि विकट ठाउँ भएको र अबेला खबर पाएकाले बुधबार जान सकिएन”, उहाँले भन्नुभयो ।

आज औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रभावित क्षेत्रतर्फ जाने भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामी भएको सुनेको छौँ । चिसो र खानपान नमिल्दा ‘कोल्ड डायरिया’(चिसोका कारण हुने झाडापखाला) को समस्या भएको हुन सक्छ । त्यहाँ पुगेपछि मात्र कति बिरामी रहेछन् र के भएको रहेछ जानकारी हुन्छ ।”

जिल्लाका विभिन्न ठाउँमा पखाला, निमोनिया र स्वासप्रश्वाससम्बन्धी रोगका बिरामी बढ्दै गएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल