Alliancekhabar

बिहिबार, मंसिर १४, २०८०

चितवन, १४ मङ्सिर : चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन् ।

सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुआतमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन् । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले उचित मूल्य पाएको बताउनुहुन्छ । उहाँले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताउनुभयो । बोहराले भन्नुभयो, “कम उत्पादन भए पनि मूल्य राम्रै पाएका छौँ ।”

बोहोराले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएको छ । वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फर्कनुभएका ३३ वर्षीय उहाँ सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउनुहुन्छ । बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै जाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उहाँले बताउनुभयो ।

बोहोराले भन्नुभयो, “अहिले सुन्तलाको मूल्यबाट सन्तुष्ट छु । अन्य साथीहरु पनि सन्तुष्ट हुनुहुन्छ ।” अझै सुन्तलाको मूल्य बढ्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । विगत वर्षहरुमा यति बेला प्रतिकिलो रु ७० हाराहारीमा सुन्तला बिक्री हुने गरेको थियो ।

सुन्तलाले उचित मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान हर्षित छन् । इच्छाकामना–३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष राम्रो आम्दानी लिन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि रु १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।” बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उहाँले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताउनुभयो ।

गुरुङले भन्नुभयो “अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले मूल्य पाउन सकेको हो । २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताउनुभयो । आफू सुन्तला खेतीबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो । उहाँले वार्षिक रु चारदेखि रु पाँच लाखसम्मको सुन्ताल बेच्दै आउनुभएको छ ।

इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।” केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उहाँले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताउनुभयो । यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल