गुल्मी, मंसिर ८ गते । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको बताउनुभएको छ । गत फागुन ३ गते राति काठमाण्डौंको आफ्नै निवासमा ग्यास दुर्घटनामा परी गम्भीर घाइते भई लामो समयको उपचारपश्चात पहिलो पटक गृह जिल्ला गुल्मी आउनुभएका नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।
गुल्मी क्षेत्र १ बाट संघीय सांसदमा निर्वाचित भएपछि आफैले उद्घाटन गर्नुभएको रेसुंगा विमानस्थलमा शुक्रबार बिहान काठमाण्डौंदेखि रेसुंगा एरपोर्टमा अवतरण गर्नुभएका डा. भण्डारीले सञ्चारकर्मीसँग सो कुरा बताउनुभयो । रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित उडान हुन नसकिरहेको जिज्ञासामा सांसद भण्डारीले नियमित उडानका लागि थप हवाईजहाइजको आवश्यकता रहेको बताउनुभयो । त्यसकालागि आफूले आग्रह गरिरहेको प्रष्ट पार्नुभयो ।
रेसुंगा विमानस्थलमा हप्ताको दुई पटक मात्र होइन दैनिक सञ्चालन होस् भन्ने पक्षमा आफु रहेको बताउँदै उहाँले भन्नुभयो, ‘थाइ एयरलाइन्स र नेपाल एयरलाइन्ससँगै सुरु भएको हो । तर थाइ एयरलाइन्सले धेरै विकास गरिसक्यो । भ्रष्टाचारका कारण यहाँको एयरलाइन्स डेभलप भएन् । यसका निम्ति आवाज उठाइरहेका छौं । यो एयरपोर्ट दैनिक रुपमा चलोस भन्ने पक्षमा छु ।’
उहाँले आफु दुर्घटनामा परी घाइते भएका बेला संसारभरीका नेपाली जनताले आफ्नो आस्था अनुसार मन्दिर, चर्च, मस्जिदमा गएर प्रार्थना समेत गरेर मृत्युको मुखबाट आफूलाई बचाएको उहाँले चर्चा गर्नुभयो । शुभेच्छुक सबैप्रति आफू ऋणि रहेको उहाँको भनाइ छ । ‘मेरो उपचारका लागि सरकारले दिएको उपचार खर्च मैले लिएको छैन । बरु मजस्तै दुर्घटनामा परेकाहरुको उपचारका लागि अस्पताल बनाउँ भनेको छु’ भण्डारीले भन्नुभयो ।
त्यसक्रममा उहाँले रेसुंगा एयरपोर्ट गुल्मीको विकासका निम्ति पहिलो खुड्किलो भएको बताउनुभयो । गुल्मीका सबै सडक बन्दा गुल्मेली जनताले दुःख पर्दा पनि साइकलमा बुटवलमा गएर तरकारी बेचेर पनि आफ्नो ज्यान पाल्न सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘धेरै युवा युवतीहरु विदेश जान पर्ने छैन् ।’ यस जिल्लालाई विकासमा जोड्न विगतदेखि वर्तमानसम्मका जनप्रतिनिधिहरुको ठुलो भूमिका रहेको समेत भण्डारीले बताउनुभयो ।