गोरखा, २८ कात्तिक : गोरखाको पालुङटार नगरपालिकामा बडहरे खोला मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ६ गाईखुर र वडा नम्बर ७ च्याङ्ली जोड्ने मोटरेवल पुल शिलान्यास भएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।
तनहुँको विमलनगर, पौवाटार गोरखाको ठाँटीपोखरी केराबारीअन्तर्गत पर्ने दूधपोखरी मार्गमा पर्ने बडहरे खोलामा रु तीन करोड ६३ लाखको लागतमा मोटरेवल पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।
सम्झौताअनुसार ठेकेदार कम्पनीले विसं २०७५ मा नै पुलभित्रै पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ढिला गरी निर्माण सम्पन्न गरेको प्रमुख खड्काले जानकारी दिनुभयो । तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले पटकपटक गरी चार पटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ ।
कूल १८ दशमलव ५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएपछि अहिले त्यस क्षेत्रका स्थानीयवासीलाई समेत सजिलो भएको छ ।