Alliancekhabar

मंगलबार, कार्तिक २८, २०८०

काठमाडौँ, २८ कात्तिक : नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो । देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दैछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल