Alliancekhabar

सोमबार, कार्तिक ०६, २०८०

झापा, ६ कात्तिक : बुद्धशान्ति गाउँपालिका– ६ का बुद्ध तामाङलाई १७ वर्षअघि २३ वर्षे तन्नेरी उमेरमै हड्डीको क्षयरोग (बोन टिबी) सङ्क्रमण भयो । तैपनि बुद्धको आत्मविश्वास डगमगाएन । रोगले गाँज्दै लग्यो । उहाँका कम्मर मुनि दुवै खुट्टा चल्न छाडे । जीवनको धरा नै हल्लाउने यी दुःखद् अवस्थाबाट उहाँ विचलित हुनुभएन । वैशाखी र आत्मविश्वासमा टेकेर आफ्नै खुट्टामा उभिने क्रममा उहाँ गाउँमा कपाल काट्ने शैलुन खोल्न सफल हुनुभयो ।

शारीरिक अपाङ्गता र बोन टिबीसँग जुधिरहनुभएको उहाँले चार वर्षदेखि बुद्धशान्ति–६ स्थित आफ्नै गाउँ सन्तपुरमा शैलुन खोल्नुभएको छ । उहाँ दैनिक १५ देखि २० जनासम्म ग्राहकको कपाल वैशाखी टेकेरै काट्नुहुन्छ । तामाङको दाजु पनि शारीरिक अपाङ्ग हुनुहुन्छ । परिवार धान्नुपर्ने जिम्मेवारी पनि तामाङकै काँधमा छ ।

अपाङ्ग र बिरामी भएर पनि स्वावलम्बनका लागि तामाङले देखाएको साहस र शीप देखेर मानिस चकित छन् । “धेरै अपाङ्गहरु सडकमा मागेर जीवन धान्न बाध्य भइरहेको देखिन्छ”, बुद्धशान्ति वडा नं ६ का अध्यक्ष शिवराज पौडेल भन्नुहुन्छ, “तर, तामाङले सिप सिकेर आफ्नै पौरखमा जिउने जुन साहस देखाउनुभएको छ, त्यसको जति प्रशंसा गरे पनि कम नै हुन्छ ।”

विसं २०४० मा झापाकै शान्तिनगरमा जन्मनुभएको तामाङलाई २०६३ सालमा क्षयरोग पुष्टि भएको थियो । खुट्टाको हड्डीमा पीडा हुन थालेपछि जचाउँन धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदा चिकित्सकले क्षयरोग लागेको जानकारी दिएका थिए । गरिबीका कारण कक्षा ४ भन्दाबढी शिक्षा उहाँले लिन पाउनु भएन । उहाँको विवाह भएको छैन ।

“रोग लागिहाल्यो भनेर मैले हरेस खाइन”, उहाँले भन्नुभयो, “उपचारसँगै जिउनका लागि उपाय खोज्न थालेँ । सुरुमा मोबाइल र टिभी बनाउन सिके । केही समयपछि कपाल काट्न सिकेँ ।” अहिले आफ्नै गाउँ सन्तपुर चोकमा उहाँको व्यवस्थित शैलुन छ ।” कम्मरमुनिका अङ्ग नचले पनि उहाँको हात र दिमाग तेजसँग चल्छ । वडा कार्यालयले शैलुन खोल्न रु ७५ हजार सहयोग गरेको वडाध्यक्ष पौडेलले बताउनुभयो । वडा कार्यालयले दिएको सहयोगमा ऋण थपेर व्यवस्थित शैलुन सञ्चालन गर्न सकेको तामाङले बताउनुभयो ।

स्थानीय शिक्षक योेगेन्द्र चम्लागार्इंले कपाल काट्ने राम्रो सिप भएकाले तामाङको शैलुनमा गाउँका बसै मानिस कपाल काट्न आउने गरेको बताउनुभयो । “अपाङ्ग र बिरामी हुनुहुन्छ, जीविकाका लागि मद्दत पुगोस् भनेर स्थानीयले सहानुभूति पनि राख्नुभएको छ”, उहाँले भन्नुभयो ।

सुरुमा बुद्धले गाउँमा टिनको बेरा लगाएर सानो टहरो हालेर शैलुन सुरु गर्नुभएको थियो । अव्यवस्थितरुपमा वैशाखी टेकेरै कपाल काटेको दयनीय अवस्था देखेर नै वडा कार्यालयले उहाँलाई व्यवस्थित शैलुन बनाउन आर्थिक सहयोग गरेको हो ।

“अपाङ्ग भएर बाटोमा हात फैलाउन मलाई मन लागेन, त्यही भएर कपाल काट्ने पेसा सुरु गरेको हुँ”, गाउँका उदाहरणीय युवाका रुपमा पहिचान बनाउनुभएको तामाङले भन्नुभयो, “खान र लाउन यही शैलुनको आम्दानीले पुगेकै छ । बोन टिबीको राम्रो उपचार गर्न आर्थिक अभाव छ । कतैबाट उपचारको सहयोग पाए लिने थिएँ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल