काठमाडौँ, कात्तिक २१ गते ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जाललाई पर्यटन प्रवर्धनमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा शुक्रबार काठमाडौँमा आयोजित भिजिट नेपाल अभियान शुभारम्भ कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल माध्यमबाट प्रस्तुत गरिएका सामग्रीले विश्वका विभिन्न स्थानका मानिसलाई नेपाल भ्रमणका लागि प्रेरित गर्न सक्ने बताउनुभयो ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले टिकटकलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी पर्यटन प्रवर्धन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक विकासको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
नेपालको पर्यटन, संस्कृति, कला र सिर्जनशीलतालाई विश्वसँग जोड्न ‘डिजिटल प्लेटफर्म’ को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले टिकटकलाई नेपालको पर्यटन प्रवर्धनमा दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहेको बताउनुभयो ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले एउटा डिजिटल कथाले यात्राका लागि प्रेरित गर्ने, यात्राले अवसर सिर्जना गर्ने र त्यस्ता अवसरले स्थानीय समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालबाट प्राप्त हुने लाभ सहरी तथा आर्थिक रूपमा सबल वर्गमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी र स्थानीय समुदायसम्म पुर्याउनुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भिजिट नेपाल अभियान सुरु गरिएको हो । अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र विविध पर्यटकीय अनुभवलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा टिकटकका मिडल इस्ट, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले टिकटकले विभिन्न स्थान, संस्कृति र अनुभवका बारेमा सूचना र जानकारी लिने तरिकामा परिवर्तन ल्याएको बताउनुभयो । उहाँले नेपालमा पर्यटनको ठुलो सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई विश्वभरका दर्शकमाझ पुर्याउन सहकार्य गरिएको बताउनुभयो ।
अभियान अन्तर्गत टिकटकले युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका नौ जना अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) लाई नेपाल ल्याएको छ । अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणमा रहेका उहाँहरूले आफ्ना अनुभव टिकटकमार्फत विश्वभरका दर्शकमाझ पुर्याइरहनुभएको छ ।
अभियान प्रभावकारी बनाउन टिकटकले छुट्टै ‘भिजिट नेपाल ह्यासट्याग पेज’ पनि सुरु गरेको छ । टिकटकको सहकार्य सुविधा प्रयोग गरी नेपाल पर्यटन बोर्डले नेपाली कलाकार, सेलिब्रेटी तथा स्थानीय सामग्री निर्मातासँग सहकार्य गर्ने छ ।
त्यस्तै लोकप्रिय पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारणसमेत गरिने छ । यसबाट विश्वका विभिन्न मुलुकका मानिसले नेपालका पर्यटकीय स्थलको भर्चुअल अनुभव लिन सक्ने छन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक सुनील शर्मा, टिकटकका सञ्चार निर्देशक किरण चापागाईं, कन्टेन्ट क्रिएटर करण परियारलगायतले टिकटकले नेपालको पर्यटनलाई विश्वभर प्रवर्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।
यसअघि टिकटकका मध्यपूर्व, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनसँग भएको भेटवार्तामा पनि मन्त्री डा. तिमिल्सिनाले डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्धन तथा सुरक्षित इन्टरनेट प्रयोगमा सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।
उहाँले सामाजिक सञ्जाललाई नेपाली कलाकार, उद्यमी, व्यवसायी तथा सर्वसाधारणको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनको माध्यम बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
